धर्मशास्त्रहरू
हेलामान १३


लमानी सामुएलका नफीहरू समक्षका अगमवाणी।

अध्यायहरू १३ देखि १५ सम्म

अध्याय १३

नफीहरूले पश्चात्ताप नगरे लमानी शमुएलले उनीहरूको विनाशको अगमवाणी गर्छन्—उनीहरू र उनीहरूका धनहरू श्रापित छन्—उनीहरू अगमवक्ताहरूलाई अस्वीकार गर्छन् र ढुङ्गाले हान्दछन्, दानवहरूद्वारा घेरिएका छन् र दुष्ट्याइँ गरेर खुसीयाली खोज्छन्। लगभग ई.पू. ६।

अनि अब छयासीयौँ वर्षमा यस्तो हुन गयो, नफीहरू अझै दुष्टतामा रहे, हो, भयानक दुष्टतामा, जब कि लमानीहरूले परमेश्वरका आज्ञाहरू, मोशाको व्यवस्थाअनुसार, कडा पालना गर्न ध्यान दिए।

अनि यस्तो हुन गयो कि यो वर्षमा शमुएल नाम गरेको, एउटा लमानी, जरहेम्लाको भूमिमा आए र जनसामु प्रवचन दिन थाले। अनि यस्तो हुन गयो कि उनले धेरै दिनहरूमा जनसामु पश्चात्तापको प्रचार गरे र जनले उनलाई निकाला गरे र उनी उनको आफ्नो घरतिर जान लागे।

तर हेर, परमप्रभुको आवाज उनीसामु आयो, कि उनी फेरि फर्कनु पर्दछ र जनसामु उनको हृदयमा जे कुराहरू आउँछन् तिनको प्रवचन दिनुपर्छ।

अनि यस्तो हुन गयो कि उनीहरूले सहेनन् कि उनी सहरमा प्रवेश गर्नुपर्छ; त्यसकारण उनी गए र त्यसको पर्खालमाथि चढे र आफ्ना हातहरू फैलाए र ठूलो आवाजमा पुकारे र जनसामु परमेश्वरले उनका हृदयमा जे कुराहरू राखिदिनुभयो त्यसको अगमवाणी गरे।

अनि उनले उनीहरूसामु भने: हेर, म शमुएल, एक लमानी, परमप्रभुले मेरो हृदयमा राखिदुनुभएका वचनहरू बोल्दछु; र हेर उहाँले मेरो हृदयमा यी जनसामु भन्न यो राखिदिनुभएको छ कि न्यायको तरबार यी जनमाथि झुन्डिन्छ; र चारसय वर्ष नबित्दै त्यो न्यायको तरबार यी जनमाथि झर्छ।

हो, भयानक विनाशले यी जनलाई पर्खन्छ, अनि यो निश्चय नै यी जनसामु आउँछ र पश्चात्तापले र निश्चय नै आउनुहुने र आफ्ना जनका निम्ति धेरै कुराहरू सहनुहुने र बध गरिनुहुने ख्रीष्टमाथिको आस्थाले बाहेक यी जनलाई केहीले पनि बचाउन सक्दैन।

अनि हेर, परमप्रभुका एक स्वर्गदूतले मलाई यो घोषणा गरेका हुन् र उनले मेरो आत्मामा खुसीको खबर ल्याए। अनि हेर, त्यो तिमीहरूसामु पनि घोषणा गर्न मलाई पठाइएको हो, कि तिमीहरूले खुसीको खबरहरू पाउन सक; तर हेर तिमीहरूले मलाई ग्रहण गर्न चाहेनौ।

त्यसकारण, परमप्रभु यसो भन्नुहुन्छ: नफीहरूका जनका हृदयहरूका कठोरताका कारण, यदि उनीहरूले पश्चात्ताप नगरेमा म मेरा वचन उनीहरूबाट लैजानेछु र म मेरो आत्मालाई उनीहरूबाट हटाउनेछु र म उनीहरूलाई अरु सहनेछैन र म उनीहरूका बन्धुहरूका हृदयहरू उनीहरूविरुद्ध फर्काउने छु।

अनि मैले उनीहरूलाई प्रहारित हुन अह्राउन अगाडि चारसय वर्ष बित्ने छैनन्; हो, म उनीहरूलाई तरबारका साथ र अनिकालका साथ र महामारीका साथ भेट्नेछु।

१० हो, म मेरो भयङ्कर रिसमा उनीहरूलाई भेट्ने छु र तिमीहरूका शत्रुहरूको चौथो पुस्ता हुनेछ जुनले यदि तिमीहरूले पश्चात्ताप नगरे तिमीहरूको पूरै विनाश देख्नेछ; र यदि तिमीहरूले पश्चात्ताप नगरे यो निश्चय नै आउनेछ, परमप्रभु भन्नुहुन्छ; र चौथो पुस्ताका तिनीहरूले तिमीहरूको विनाश ल्याउनेछन्।

११ तर यदि तिमीहरूले पश्चात्ताप गरे र परमप्रभु तिमीहरूका परमेश्वरसामु फर्के म मेरो रिस हटाउने छु, परमप्रभु भन्नुहुन्छ; हो, परमप्रभु यसो भन्नुहुन्छ, पश्चात्ताप गर्ने र मसामु फर्कने उनीहरू आशीषित छन्, तर पश्चात्ताप नगर्नेलाई धिक्कार छ।

१२ हो, जरहेम्लाको यो महान् सहरलाई धिक्कार; किनकि हेर, यो तिनीहरूका कारण हो जो धर्मी छन् कि यसलाई बचाइएको हो; हो, यो महान् सहरलाई धिक्कार छ, किनकि म ठान्छु, परमप्रभु भन्नुहुन्छ, कि यहाँ धेरै छन्, हो, यो सहरका बढी भाग समेत छन्, जसले आफ्ना हृदयहरू मेरा विरुद्ध कठोर बनाउने छन्, परमप्रभु भन्नुहुन्छ।

१३ तर उनीहरू आशीषित छन् जसले पश्चात्ताप गर्नेछन्, किनकि म उनीहरूलाई छाडिदिनेछु। तर हेर, यदि यो महान् सहरका धर्मीहरूका लागि नभएको भए, हेर, मैले अह्राउने थिएँ कि आगो स्वर्गबाट तल आउनुपर्छ र यसको विनाश गर्नुपर्छ।

१४ तर हेर, यो धर्मीहरूका निम्ति हो कि यसलाई छाडिएको हो। तर हेर, समय आउँछ, परमप्रभु भन्नुहुन्छ, कि जब तिमीहरूले धर्मीहरूलाई तिमीहरूमाझ बाट निकाला गर्नेछौ, तब तिमीहरू विनाशका निम्ति तयार हुनेछौ; हो, धिक्कार छ यो महान् सहरलाई, उनीमा भएको दुष्टता र कुकर्महरूका कारण।

१५ हो, अनि धिक्कार छ गिदोनको सहरलाई, उनीमा भएको दुष्टता र कुकर्मका कारण।

१६ हो, अनि नफीहरूका अधीनमा भएका सबै सहरहरूलाई धिक्कार छ जुन वरिपरिका भूमिहरूमा छन्, उनीहरूमा भएका दुष्टता र कुकर्महरूका कारण।

१७ अनि हेर, भूमिमा एक श्राप आउनेछ, सैन्यहरूका अधिपति भन्नुहुन्छ, भूमिमा भएका जनका कारण, हो, उनीहरूको दुष्टता र उनीहरूका कुकर्महरूका कारण।

१८ अनि यस्तो हुन जानेछ, सैन्यहरूका अधिपति, हो, हाम्रा महान् र सत्य परमेश्वर भन्नुहुन्छ, कि जसले पृथ्वीमा खरखजानाहरू लुकाउनेछ, यदि ऊ धर्मी मानिस भएर त्यसलाई परमप्रभुमा नलुकाए, भूमिको भयानक श्रापका कारण, उसले फेरि अरु पाउने छैन।

१९ किनकि म चाहान्छु, परमप्रभु भन्नुहुन्छ, कि उनीहरूले आफ्ना खरखजानाहरू ममा लुकाऊन्; र श्रापित उनीहरू हुनेछन् जसले आफ्ना खरखजानाहरू ममा लुकाउँदैन; किनकि धर्मीहरूले बाहेक कसैले पनि आफ्ना खरखजानाहरू ममा लुकाउँदैन; र ऊ जसले आफ्ना खरखजानाहरू ममा लुकाउँदैन, ऊ अनि खरखजना पनि श्रापित हुनेछन् र भूमिको श्रापका कारण कसैले पनि यसको उद्धार गर्न सक्नेछैनन्।

२० अनि त्यो दिन आउनेछ कि उनीहरूले आफ्ना खरखजनाहरू लुकाउनेछन्, किनभने उनीहरूले आफ्ना हृदय धनमा राखेका छन् र किनभने उनीहरूले आफ्ना हृदय आफ्ना धनमा राखेका छन् र आफ्ना खरखजानाहरू लुकाउने छन् जब उनीहरू आफ्ना शत्रुहरूबाट भाग्नेछन्; किनभने उनीहरूले ती ममा लुकाउँदैनन्, उनीहरू र उनीहरूका खरखजानाहरू श्रापित हुनेछन्; र त्यो दिनमा उनीहरू प्रताडित हुनेछन्, परमप्रभु भन्नुहुन्छ।

२१ हेर तिमीहरू, यो महान् सहरका जन र मेरा वचनहरूलाई सुन; हो, परमप्रभुले भन्नुभएका वचनहरूलाई सुन; किनकि हेर, तिम्रा धनका कारण तिमीहरू श्रापित छौ र तिम्रा धन पनि किनभने तिमीहरूले आफ्ना हृदयलाई त्यसमाथि राखेका छौ र तिमीहरूलाई ती दिने उहाँका वचनहरूलाई सुनेका छैनौ।

२२ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई ती कुराहरूमा सम्झदैनौ जुन उहाँले तिमीहरूलाई आशीषित गर्नुभएको छ, तर तिमीहरूले तिम्रा धनहरूलाई सदैव सम्झन्छौ, तिनका निम्ति परमप्रभु तिमीहरूका परमेश्वरलाई धन्यवाद दिन सम्झदैनौ; हो, तिमीहरूका हृदयहरू परमप्रभुतिर खिचिएका छैनन्, तर ती महान् घमण्डका साथ, घमण्ड गर्न र मातिन र ईर्ष्याहरू र कलहहरू, द्वैष गर्न, सताउन र हत्याहरू र सबै प्रकारका दुष्टताहरूमा रमाउँछन्।

२३ यसकारणका निम्ति परमप्रभु परमेश्वरले अह्राउनुभएको छ कि भूमिमा र तिमीहरूका धनहरूमा पनि श्राप आउनेछ र यो तिमीहरूका दुष्टताका कारण हो।

२४ हो, धिक्कार छ यी जनलाई, यो समयका कारण जुन आइपुगेको छ, कि तिमीहरूले अगमवक्ताहरूलाई निकाला गरेका छौ र उनीहरूको खिल्ली उडाएका छौ र उनीहरूतर्फ ढुङ्गाहरू हानेका छौ र उनीहरूलाई बध गरेका छौ र उनीहरूलाई सबै प्रकारका दुष्टता गरेका छौ, जसरी प्राचीन समयमा समेत उनीहरूलाई गरियो।

२५ अनि अब जब तिमीहरू बोल्दछौ, तिमीहरू भन्दछौ: यदि हाम्रा दिनहरू हाम्रा पितापुर्खाहरुका प्राचीन दिनहरू भएको भए, हामी हाम्रा अगमवक्ताहरूको बध गर्ने थिएनौँ; हामी उनीहरूलाई ढुङ्गाले हान्ने थिएनौँ र उनीहरूलाई निकाला गर्ने थिएनौँ।

२६ हेर तिमीहरू उनीहरूभन्दा पनि झन् खराब छौ, किनकि जसरी परमप्रभु जीवित हुनुहुन्छ, यदि तिमीहरूमाझ एक अगमवक्ता आउँछन् र तिमीहरूसामु परमप्रभुका वचनको घोषणा गर्छन्, जसले तिमीहरूका पापहरू र दुष्टताहरूको गवाही दिन्छन्, तिमीहरू उससँग रिसाउँछौ र उसलाई निकाला गर्छौ र उसलाई विनाश गर्न सबै प्रकारका उपायहरू खोज्छौ; हो, तिमीहरूले भन्नेछौ कि ऊ झुटो अगमवक्ता हो र ऊ पापी हो र दुष्टबाटको हो, किनभने उसले गवाही दिन्छ कि तिमीहरूका कामहरू दुष्ट छन्।

२७ तर हेर, यदि एक मानिस तिमीहरूमाझ आउनेछ र भन्नेछ: यो गर र यहाँ कुनै दुष्टता छैन, त्यो गर र तिमीहरूले सहनेछैनौ; हो, उसले भन्ने छ: तिमीहरूका आफ्ना हृदयहरूका घमण्डहरूका पछि हिँड; हो, आफ्ना आँखाहरूका घमण्डपछि हिँड र तिमीहरूको हृदयले चाहेअनुसार गर—र यदि एक मानिस तिमीहरूमाझ आउँछ र यो भन्छ भने, तिमीहरूले उसलाई ग्रहण गर्नेछौ र भन्नेछौ कि ऊ एक अगमवक्ता हो।

२८ हो, तिमीहरूले उसलाई माथि उचाल्नेछौ र उसलाई आफ्नो सम्पत्ति दिनेछौ; तिमीहरूले उसलाई आफ्ना सुन र आफ्ना चाँदी दिनेछौ र उसलाई महङ्गा वस्त्रहरू पहिराउनेछौ; र किनभने उसले तिमीहरूसामु चाप्लुसीका वचनहरू बोल्छ र उसले भन्छ कि सबै ठीक छ, तब तिमीहरूले उसमा कुनै दोष फेला पार्नेछैनौ।

२९ हे दुष्ट र पथभ्रष्ट पिँढीका तिमीहरू; कठोरताका तिमीहरू र हठी जन तिमीहरू, तिमीहरू कतिन्जेल ठान्छौ कि परमप्रभुले तिमीहरूलाई सहनुहुनेछ? हो, तिमीहरू कतिन्जेल आफैँलाई मूर्ख र अन्धा मार्गप्रदर्शकहरूद्वारा अगुवाइ गरिएको सहनेछौ? हो, तिमीहरू कतिन्जेल प्रकाशका सट्टामा अन्धकार रोज्नेछौ?

३० हो, हेर, परमप्रभुको रिस तिमीहरूका विरुद्ध उठिसकेको छ; हेर, उहाँले तिमीहरूका दुष्टताका कारण भूमिलाई श्राप दिनुभएको छ।

३१ अनि हेर, समय आउँछ कि उहाँले तिमीहरूको धनलाई श्राप दिनुहुन्छ, कि ती चिप्ला हुन्छन्, कि तिमीहरूले तीनलाई समात्न सक्दैनौ; र तिम्रा गरिबीका दिनहरूमा तिमीहरूले ती राख्न सक्दैनौ।

३२ अनि तिमीहरूले आफ्ना गरिबीका दिनहरूमा परमप्रभुसामु पुकार्नेछौ; र तिमीहरूले व्यर्थमा पुकार्नेछौ, किनकि तिमीहरूमाथि तिमीहरूको विनाश आइसकेको छ र तिमीहरूको विनाश निश्चित बनाइएको छ; र तब तिमीहरू त्यस दिनमा रुनेछौ र डाँको छाडी कराउने छौ, सैन्यहरूका अधिपति भन्नुहुन्छ। अनि तब तिमीहरूले शोक गर्नेछौ र भन्नेछौ:

३३ हे कि मैले पश्चात्ताप गरेको भए र अगमवक्ताहरूलाई नमारेको भए र उनीहरूलाई ढुङ्गाले नहानेको भए र उनीहरूलाई निकाला नगरेको भए। हो, त्यस दिनमा तिमीहरूले भन्नेछौ: हे कि उहाँले हाम्रा धन हामीलाई दिएका दिनमा हामीले परमप्रभु हाम्रा परमेश्वरलाई सम्झेको भए, अनि तब ती चिप्ला बन्दैनथे कि हामीले तिनलाई गुमाउनु पर्दैनथ्यो; किनकि हेर, हाम्रो धन हामीबाट गयो।

३४ हेर, हामीले एक औजार यहाँ राख्छौँ र भोलिपल्ट त्यो जान्छ; र हेर, हाम्रा तरबारहरू लडाइँका निम्ति हामीले खोजेका दिनमा हामीबाट लगिन्छ।

३५ हो, हामीले आफ्ना खरखजनाहरू लुकाएका छौँ र भूमिको श्रापका कारण, ती हामीबाट चिप्लिएका छन्।

३६ हे कि परमप्रभुका वचन हामीकहाँ आएको त्यस दिनमा हामीले पश्चात्ताप गरेको भए; किनकि हेर भूमि श्रापित छ र सबै कुराहरू चिप्ला भएका छन् र हामी तिनलाई समात्न सक्दैनौँ।

३७ हेर, हामीलाई दानवहरूद्वारा घेरिएको छ, हो, हामी हाम्रा जीवात्माहरूको विनाश गर्न खोज्ने उसका दूतहरूद्वारा घेरा हालिएका छौँ। हेर, हाम्रा दुष्ट्याइँहरू महान् छन्। हे परमप्रभु, के हजुरले आफ्नो क्रोध हामीबाट हटाउन सक्नुहुन्न? अनि ती दिनहरूमा तिमीहरूको भाषा यो हुनेछ।

३८ तर हेर, तिमीहरूका परीक्षणका दिनहरू बितेका छन्; चीरस्थायी रुपमा ढिला नभइन्जेलसम्म तिमीहरूले आफ्ना मुक्तिका दिनलाई लम्ब्याएका छौ र तिमीहरूको विनाश निश्चित बनाइएको छ; हो, किनकि तिमीहरू आफ्ना जीवनका सम्पूर्ण दिनहरूमा तिमीहरूले प्राप्त गर्न नसक्ने त्यसको खोजी गरेका छौ; र तिमीहरूले दुष्ट्याइँ गरेर खुसियाली खोजेका छौ, जुन कुरा हाम्रा महान् र अनन्त शिरमा भएको धार्मिकताको प्रकृति विपरीत छ।

३९ हे भूमिका जन तिमीहरू, कि तिमीहरूले मेरा वचनहरू सुनिदेओ! अनि म प्रार्थना गर्छु कि परमप्रभुको क्रोध तिमिहरूबाट हटोस् र तिमीहरू पश्चात्ताप गर र मुक्त होओ।