धर्मशास्त्रहरू
हेलामान ६


अध्याय ६

धर्मी लमानीहरूले दुष्ट नफीहरूसामु प्रचार गर्दछन्—दुबै जन शान्ति र प्रचूरताको युगमा उन्नति गर्छन्—विहानको तारा, पापको लेखकले, दुष्टहरूका र गादियान्तोन डाँकाहरूका हृदयहरूलाई हत्यामा र दुष्टतामा भड्काउँछ—डाँकाहरूले नफीको सरकारलाई लिन्छन्। लगभग ई.पू. २९–२३।

अनि यस्तो हुन गयो कि जब न्यायकर्ताहरूको शासनको बैसठ्ठीयौँ वर्षको अन्त्य भएको थियो, यी सबै कुराहरू भएका थिए र लमानीहरू, उनीहरूका बढी भाग, धर्मी जन बनेका थिए, यतिसम्म कि उनीहरूको धार्मिकताले नफीहरूलाई उछिन्यो, आस्थामा उनीहरूको दृढता र उनीहरूका स्थिरताका कारण।

किनकि हेर, नफीहरूमध्ये धेरै थिए जो कठोर र निष्ठुर र अत्याधिक दुष्ट बनेका थिए, यतिसम्म कि उनीहरूले परमेश्वरका वचनलाई र उनीहरूमाझ आएका सबै प्रवचन र अगमवाणीलाई अस्वीकार गरेका थिए।

तैपनि, लमानीहरूका परिवर्तनका कारण, हो, उनीहरूमाझ स्थापित गरिएको परमेश्वरको चर्चका कारण, चर्चका जनसँग महान् खुसी थियो। अनि उनीहरूले एक अर्कालाई सङ्गति गरे र एक अर्कासँग हर्षित भए र महान् खुसी पाए।

अनि यस्तो हुन गयो कि लमानीहरूमध्ये धेरै जरहेम्लाको भूमिसम्म तल आए र आफ्नो परिवर्तनको तरिका नफीहरूका जनसमक्ष घोषणा गरे र उनीहरूलाई आस्था र पश्चात्तापमा प्रोत्साहित गरे।

हो, अनि धेरैले उनीहरूमध्ये धेरैलाई विनम्रताको गहिराइमा ल्याउन, परमेश्वर र थुमाका विनम्र अनुयायीहरू बन्न, अत्यन्त महान् शक्ति र अधिकारका साथ प्रचार गरे।

अनि यस्तो हुन गयो कि लमानीहरूमध्ये धेरै उत्तरतर्फको भूमितिर गए; र नफी र लही पनि उत्तरतर्फको भूमितिर, जनसामु प्रचार गर्न गए। अनि यसरी त्रिसठ्ठीयौँ वर्षको अन्त्य भयो।

अनि हेर, सम्पूर्ण भूमिमा शान्ति थियो, यतिसम्म कि नफीहरू भूमिको जुन भागमा जान चाहे त्यहीँ गए, चाहे नफीहरूमाझ होस् या लमानीहरू।

अनि यस्तो हुन गयो कि लमानीहरू पनि उनीहरू जहाँ जान चाहे त्यहीँ गए. चाहे त्यो लमानीहरूमाझ होस् या नफीहरूमाझ; अनि यसरी उनीहरूले एक अर्कासँग व्यवहार गरे, किन्न र बेच्न र फाइदा लिन; उनीहरूका चाहनाअनुसार।

अनि यस्तो हुन गयो कि उनीहरू अत्यन्तै धनी बने, लमानीहरू र नफीहरू दुबै, अनि उनीहरूसँग अत्यन्त प्रचूरमात्रामा सुन र चाँदी र हरेक प्रकारका बहूमूल्य धातुहरू थिए, दक्षिणको भूमि र उत्तरको भूमि दुबैमा।

१० अब, दक्षिणको भूमिलाई लही भनियो र उत्तरको भूमिलाई मुलेक भनियो, जुन सिदकियाहको छोराको नाउँअनुसार थियो; किनकि परमप्रभुले मुलेकलाई उत्तरको भूमिमा र लहीलाई दक्षिणको भूमिमा ल्याउनुभयो।

११ अनि हेर, यी दुबै भूमिहरूमा सबै प्रकारका सुन र चाँदी र हरेक किसिमका बहुमूल्य कच्चा धातु थिए; अनि त्यहाँ चाखलाग्दो कालिगढ़हरू पनि थिए, जसले सबै प्रकारका कच्चा धातुहरूका कार्य गरे र प्रसोधन गरे; अनि यसरी उनीहरू धनी बने।

१२ उनीहरूले, दक्षिण र उत्तर दुबैमा, प्रचुर मात्रामा अन्न उब्जाए; र दक्षिण र उत्तर दुबैमा, उनीहरू अत्यन्तै फुले-फले। अनि उनीहरू भूमिमा फैलिए र अत्यन्त बलिया भए। अनि उनीहरूले धेरै बथान र झुण्ड, हो, धेरै गाईवस्तुहरू पनि हुर्काए।

१३ हेर उनीहरूका स्त्रीहरूले मेहनत गरे र धागो काते र उनीहरूको नाङ्गोपनालाई पहिरन सबै प्रकारका वस्त्रहरू, मसिनो गरी बाटिएका सुती कपडाहरू र हरेक प्रकारका वस्त्रहरू बनाए। अनि चौसठ्ठीयौँ वर्ष यसरी शान्तिमा बित्यो।

१४ अनि पैसठ्ठीयौँ वर्षमा पनि उनीहरूसँग महान् हर्ष र शान्ति, हो, आगामी कुराहरूका बारेमा धेरै प्रवचन र अगमवाणीहरू थिए। अनि पैसठ्ठीयौँ वर्ष यसरी बित्यो।

१५ अनि यस्तो हुन गयो कि न्यायकर्ताहरूको शासनको छैसठ्ठीयौँ वर्षमा, हेर, सेजोराम न्यायको आसनमा बसेको समयमा एक अज्ञात हातद्वारा उसको हत्या गरियो। अनि यस्तो हुन गयो कि सोही वर्षमा उसको छोरा, जसलाई जनले उसको सट्टामा नियुक्त गरेका थिए, उसको पनि हत्या गरियो। अनि छैसठ्ठीयौँ वर्षको पनि यसरी अन्त्य भयो।

१६ अनि सतसठ्ठीयौँ वर्षको प्रारम्भमा जन फेरि अत्यन्त दुष्ट बन्न थाले।

१७ किनकि हेर, परमप्रभुले उनीहरूलाई यति लामो समयसम्म संसारका धनहरूका साथ आशीष दिनुभएको थियो कि उनीहरूलाई क्रोधमा, युद्ध गर्नमा, रक्तपात गर्नमा भड्काइएको थिएन; त्यसकारण उनीहरूले आफ्ना हृदयहरूलाई उनीहरूका धनहरूमाथि राखे, हो, उनीहरूले फाइदा लिन खोज्न थाले कि उनीहरू एक अर्का भन्दामाथि हुन सकून्; त्यसकारण उनीहरूले गोप्य हत्याहरू गर्न र डकैँती गर्न र लुट्न थाले ताकि उनीहरूले फाइदा पाऊन्।

१८ अनि अब हेर, ती हत्याराहरू र लुटेराहरू कीश्कुमेन र गादियान्तोनद्वारा बनाइएका एक समूह थिए। अनि अब यस्तो हुन गयो कि गादियान्तोनका समूहका धेरै नफीहरूमाझ समेत थिए। तर हेर, उनीहरू लमानीहरूका अझ बढी दुष्टभागहरूमाझ झनै अनगिन्ती थिए। अनि उनीहरूलाई गादियान्तोनका डाँकाहरू र हत्याराहरू भनिन्थ्यो।

१९ अनि ती उनीहरू नै थिए जसले प्रधान न्यायकर्ता सेजोराम र उनको छोराको, न्यायको आसनमा बसेको बेलामा हत्या गरेका थिए; र हेर, उनीहरूलाई फेला पारिएन।

२० अनि अब यस्तो हुन गयो कि जब लमानीहरूले थाहा पाए कि उनीहरूमाझ डाँकाहरू छन् उनीहरू अत्यन्त दुखित भए; र उनीहरूले डाँकाहरूलाई पृथ्वीको सतहबाट विनाश गर्न आफ्नो क्षमतामा भएका प्रत्येक माध्यमको प्रयोग गरे।

२१ तर हेर, सैतानले नफीहरूका बढी भागहरूका हृदयहरूलाई भड्कायो, यतिसम्म कि उनीहरू ती डाँकाहरूका समूहमा एकीकृत भए र उनीहरूका करारहरू र उनीहरूका शपथहरूमा प्रवेश गरे, कि उनीहरूले एक अर्काको सुरक्षा र संरक्षण गर्ने छन्, उनीहरूलाई जुनसुकै कठिन परिस्थितिमा भए पनि, कि उनीहरूले तिनीहरूका हत्या र तिनीहरूका लुटको र तिनीहरूका चोरी सहन पर्नेछैन।

२२ अनि यस्तो हुन गयो कि उनीहरूसँग आफ्ना चिन्हहरू, हो, उनीहरूका गोप्य चिन्हहरू र उनीहरूका गोप्य वचनहरू थिए; अनि यो कि उनीहरूले करारमा प्रवेश गरेको बन्धुलाई छुट्याउन सकून्, कि आफ्ना बन्धुले जस्तोसुकै दुष्टता गरे पनि उसले आफ्नो बन्धुद्वारा चोट नपाओस्, न त तिनीहरुद्वारा जो उसको समूहका हुन्, जसले यो करार लिएका छन्।

२३ अनि यसरी उनीहरूले उनीहरूको देशका कानुनहरू र परमेश्वरका व्यवस्थाहरू विपरीत हत्या गर्न र लुट्न र चोर्न र वेश्यावृत्ति र सबै प्रकारका दुष्टता गर्न सकून्।

२४ अनि उनीहरूका समूहका मध्ये जजसले आफ्ना दुष्टता र आफ्ना कुकर्महरू संसारमा प्रकट गर्छन, उनीहरूलाई आफ्नो देशको कानुनअनुसार होइन, तर गादियान्तोन र कीश्कुमेनद्वारा दिइएको उनीहरूको दुष्टताको कानुनअनुसार न्याय गरिनु पर्दछ।

२५ अब हेर, ती गोप्य शपथहरू र करारहरू थिए जुन आल्माले उनका छोरालाई संसार अघि जान हुँदैन भनी आज्ञा दिएका थिए, ती कथंकदाचित जनलाई विनाशमा झार्ने एक माध्यम हुनेछन्।

२६ अब हेर, ती गोप्य शपथहरू र करारहरू गादियान्तोनसामु हेलामानलाई हस्तान्तरण गरिएका अभिलेखहरूद्वारा आएनन्; तर हेर, ती गादियान्तोनको हृदयमा त्यसले राखेको थियो जसले हाम्रा प्रथम मातापितालाइ निषेधित फल खान लोभ्याएको थियो—

२७ हो, त्यो उही जसले कयिनसँग षडयन्त्र गऱ्यो, कि यदि उसले आफ्नो भाइ हाबिलको हत्या गरेमा यो संसारसामु ज्ञात हुनेछैन। अनि उसले कयिन र उसका अनुयायीहरूसँग त्यस समय पश्चात् षड्यन्त्र गऱ्यो।

२८ अनि यो पनि सोही हो जसले मानिसहरूका हृदयहरूमा पर्याप्त मात्रामा उच्च धरहरा बनाउन यो रोप्यो ताकि उनीहरू स्वर्ग पुग्न सकून्। अनि यो उही प्राणि थियो जसले जनलाई त्यो धरहरादेखि यो भूमिसम्म अगुवाइ गऱ्यो; जसले जनलाई पूरै विनाशसम्म र चीरस्थायी नरकसम्म नघिसारिन्जेल भूमिको सम्पूर्ण सतहभरि अन्धकारका र कुकर्मका कामहरू फैलाउँछ।

२९ हो, त्यो उही हो जसले निरन्तर अन्धकारका र गोप्य हत्याका काम गर्न गादियान्तोनको हृदयमा रोप्यो; र उसले मानिसको प्रारम्भदेखि यो समयसम्म पनि यसलाई अघि ल्याएको छ।

३० अनि हेर, यो ऊ हो जो सबै पापको लेखक हो। अनि हेर, उसले अन्धकारका र गोप्य हत्याका कामहरू निरन्तर गर्दछ र उनीहरूका षडयन्त्रहरू र उनीहरूका शपथहरू र उनीहरूका करारहरू र उनीहरूका भयावह दुष्टताका योजनाहरू, एउटा पिँढीदेखि अर्को पिँढीसम्म, उसले मानिसका छोराछोरीहरूका हृदयलाई समात्न भ्याएअनुसार हस्तान्तरण गर्दछ।

३१ अनि अब हेर, उसले नफीहरूका हृदयहरूमाथि महान् पकड पाएको थियो; हो, यतिसम्म कि उनीहरू अत्यन्त दुष्ट बनेका थिए; हो, उनीहरूमध्ये बढी भाग धार्मिकताको बाटोबाट तर्केका थिए र परमेश्वरका आज्ञाहरूलाई उनीहरूका पाउमुनि कुल्चे र उनीहरू आफ्नै बाटाहरूतिर लागे र आफ्ना निम्ति उनीहरूका सुन र उनीहरूका चाँदीका मुर्तिहरू बनाए।

३२ अनि यस्तो हुन गयो कि यी सबै दुष्टताहरू उनीहरूसामु आउन त्यति धेरै वर्ष लागेन, यतिसम्म कि त्यसको बढी भाग उनीहरूसामु नफीका जनमाथि न्यायकर्ताहरूको शासनको सतसठ्ठीयौँ वर्षमा आएको थियो।

३३ अनि अठसठ्ठीयौँ वर्षमा पनि धर्मीका महान् दु:ख र विलापका लागि उनीहरूका दुष्टता बढे।

३४ अनि यसरी हामी देख्छौँ कि नफीहरू विश्वासमा क्षीण हुन र दुष्टता र कुकर्महरूमा बढ्न थाले, जब कि लमानीहरू उनीहरूका परमेश्वरका ज्ञानमा अन्त्यन्त बढ्न थाले; हो, उनीहरूले उहाँका कानुनहरू र आज्ञाहरू पालन गर्न र उहाँ अगाडि सत्यता र इमान्दारीका साथ हिँड्न थाले।

३५ अनि यसरी हामी देख्छौँ कि परमप्रभुको आत्मा उनीहरूका हृदयका दुष्टता र कठोरताका कारण नफीहरूबाट हट्न थाल्यो।

३६ अनि यसरी हामीहरूले देख्छौँ कि परमप्रभुले उहाँका वचनहरूमा विश्वास गर्नमा उनीहरूको सहजता र चाहनाका कारण लमानीहरूमाथि आफ्नो आत्मा खन्याउन थाल्नु भयो।

३७ अनि यस्तो हुन गयो कि लमानीहरूले गादियान्तोनका डाँकाहरूको समूहलाई खोजे; र उनीहरूले उनीहरूका बढी दुष्ट भागहरूमाझ परमेश्वरका वचनको प्रवचन दिए, यतिसम्म कि डाँकाहरूको समूहको लमानीहरूमाझ बाट पूरै विनाश गरियो।

३८ अनि अर्कातर्फ यस्तो हुन गयो कि, नफीहरूले उनीहरूलाई बढाए र उनीहरूलाई समर्थन गरे, उनीहरूका बढी दुष्ट भागबाट सुरु गर्दै, नफीहरूका सम्पूर्ण भूमिमा उनीहरू नफैलिन्जेल र धर्मीका बढी भागहरूलाई उनीहरूका कार्यहरूमा विश्वास गर्न र उनीहरूका लुटहरूको सहभागी हुन र उनीहरूका गोप्य हत्या र गुटबन्दीहरूमा सहमत हुन नफसाइन्जेलसम्म।

३९ अनि यसरी उनीहरूले सरकारको एकलौटो जिम्मेवारी प्राप्त गरे, यतिसम्म कि उनीहरूले गरिब र विनम्र र परमेश्वरका विनम्र अनुयायीहरूमाथि आफ्ना पाउहरूले कुल्चे र प्रहार गरे र कष्ट दिए र आफ्ना पिठ्यूँ फर्काए।

४० अनि यसरी हामी देख्छौँ कि उनीहरू एक भयावह अवस्थामा र चीरस्थायी विनाशका निम्ति पाकेका थिए।

४१ अनि यस्तो हुन गयो कि नफीका जनमाथिको न्यायकर्ताहरूको शासनको अठसठ्ठीयौँ वर्षको यसरी अन्त्य भयो।