धर्मशास्त्रहरू
मोर्मोन ९


अध्याय ९

मोरोनीले तिनलाई बोलाउँछन् जसले पश्चात्ताप गर्न ख्रीष्टमा विश्वास गर्दैनन्—उनले आश्चर्यकर्महरूको परमेश्वरको घोषणा गर्छन्, जसले प्रकाशहरू दिनुहुन्छ र उपहारहरू खन्याउनुहुन्छ र आस्थावानमाथि चिन्हहरू दिनुहुन्छ—आश्चर्यकर्महरू अविश्वासका कारण रोकिन्छन्—चिन्हहरू विश्वास गर्नेहरूलाई पछ्याउँछन्—मानिसहरूलाई विवेकी हुन र आज्ञाहरू पालना गर्न प्रोत्साहित गरिन्छ। लगभग ई.सं. ४०१–४२१।

अनि अब, म तिनीहरूका बारेमा पनि बोल्दछु जसले ख्रीष्टमा विश्वास गर्दैनन्।

हेर, के तिमीहरूले आफ्नो सजायको दिनमा विश्वाश गर्नेछौ—हेर, जब परमप्रभु आउनुहुनेछ, हो त्यो महान् दिनमा समेत जब पृथ्वी पात्रो झैँ बेरिनेछ र तत्वहरू आगाको रापले पग्लनेछन्, हो, त्यो महान् दिनमा जब तिमीहरूलाई परमेश्वरका थुमाअगाडि खडा हुन ल्याइनेछ—तब के तिमीहरूले भन्नेछौ कि परमेश्वर हुनुहुन्न?

तब के तिमीहरूले अझै ख्रीष्टलाई अस्वीकार गर्छौ, अथवा के तिमीहरू परमेश्वरका थुमालाई हेर्न सक्छौ? के तिमीहरू अनुमान गर्छौ कि तिमीहरू आफ्नो दोषको चेतनामुनि उहाँसँग बस्न सक्छौ? के तिमीहरूले अनुमान गर्छौ कि तिमीहरू तिमीहरूको दोषको चेतनामुनि त्यो पवित्र व्यक्तिसँग बस्न सक्छौ, जब तिमीहरूको आत्मा त्यो दोषको चेतनाले यातनामा सताइन्छ कि तिमीहरूले सदैव उहाँका व्यवस्थाहरूको दुरुपयोग गऱ्यौ?

हेर, म तिमीहरूलाई भन्दछु कि तिमीहरूलाई पवित्र र न्यायी परमेश्वरसँग, उहाँअगाडि तिमीहरूको घिनलाग्दोपनाको चेतनामुनि बास बस्न दोषी ठहऱ्याइएका आत्माहरूसँग नरकमा बास बस्न भन्दा बढी दु:खदायी हुन्छ।

किनकि हेर, जब तिमीहरूलाई परमेश्वरका र परमेश्वरको महिमाका पनि र येशू ख्रीष्टको पवित्रताका अगाडि तिमीहरूको नग्नता देख्न ल्याइनेछ, यसले तिमीहरूमा ननिभ्ने आगाको ज्वाला बाल्नेछ।

हे त्यसोभए तिमी अविश्वासीहरू, परमप्रभुमा फर्क; येशूका नाउँमा पितासामु शक्तिपूर्वक पुकार, ताकि सम्भवत: तिमीहरू त्यो महान् र अन्तिम दिनमा, थुमाको रगतबाट सफा गरिएकाले, निष्कलङ्क, शुद्ध, स्वच्छ र सफेद फेला पारिन सक।

अनि फेरि म तिमीहरूसामु बोल्दछु जसले परमेश्वरका प्रकाशहरूलाई अस्वीकार गर्दछ र भन्दछ कि ती सकिए, कि अरु प्रकाश छैनन्, न त अगमवाणी, न त उपहार, न त चङ्गाई, न त भाषाहरूमा बोलिने र भाषाहरूको भाषान्तरण नै छन्;

हेर म तिमीहरूलाई भन्दछु, जसले यी कुराहरूको अस्वीकार गर्दछ उसले ख्रीष्टको सुसमाचार थाहापाएको छैन, हो, उसले धर्मशास्त्रहरू पढेको छैन; यदि छ भने, उसले ती बुझ्दैन।

किनकि के हामीले पढ़दैनौँ कि परमेश्वर हिजो, आज र सदासर्वदा उस्तै हुनुहुन्छ र उहाँमा कुनै अस्थिरता छैन न त परिवर्तनको कुनै छाया छ?

१० अनि अब, यदि तिमीहरूले आफैमा त्यस्तो परमेश्वरको कल्पना गरेकाछौ जो परिवर्तन हुनुहुन्छ र जसमा फेरबदलको छाया छ, त्यसो भए तिमीहरूले त्यस्तो परमेश्वरको कल्पना गरेका छौ जो आश्चर्यकर्महरूका परमेश्वर हुनुहुन्न।

११ तर हेर, म तिमीहरूसामु आश्चर्यकर्महरूका परमेश्वरलाई, अब्राहामका परमेश्वर समेत र इसहाकका परमेश्वर र याकूबका परमेश्वरलाई देखाउनेछु; र उहाँ सोही परमेश्वर हुनुहुन्छ जसले स्वर्गहरू र पृथ्वीको र तिनमा भएका सबै कुराहरूको सृष्टि गर्नुभयो।

१२ हेर, उहाँले आदमको सृष्टि गर्नुभयो र आदमद्वारा मानिसको पतन आयो। अनि मानिसको पतनका कारण येशू ख्रीष्ट आउनुभयो, पिता र पुत्रसमेत; र येशू ख्रीष्टका कारण मानिसको उद्धार आयो।

१३ अनि मानिसको उद्धारका कारण, जुन येशू ख्रीष्टबाट आयो, उनीहरूलाई परमप्रभुको उपस्थितिमा ल्याइनेछ; हो, यसैबाट सबै मानिसहरूलाई मुक्त गरिन्छ, ख्रीष्टको मृत्युका कारण पुनरुत्थान ल्याइनेछ, जसले त्यो अनन्त निन्द्राबाट उद्धार ल्याउनेछ, जुन निन्द्राबाट सबै मानिसहरूलाई परमेश्वरको शक्तिद्वारा व्युँताइनेछ जब त्यो बिगुल फुकिनेछ; र उनीहरू अघि आउनेछन्, साना र ठूला दुबै र सबै उहाँका न्यायलयअगाडि खडा हुनेछन्, उद्धार गरिएकाले र यो मृत्युको अनन्त बन्धनबाट स्वतन्त्र गरिएकाले जुन लौकिक मृत्यु हो।

१४ अनि तब पवित्र जनको न्याय उनीहरूमाथि आउँछ; र तब त्यो समय आउँछ कि जो घिनलाग्दो छ ऊ अझै घिनलाग्दो रहिरहनेछ; र जो धर्मी छ ऊ अझै धर्मी रहिरहनेछ; जो खुसी छ ऊ अझै खुसी रहिरहनेछ; र जो बेखुसी छ ऊ अझै बेखुसी रहिरहनेछ।

१५ अनि अब, हे तिमीहरू सबै जसले आफैँमा त्यस्तो परमेश्वरको कल्पना गरेकाछौ जसले आश्चर्यकर्महरू गर्न सक्नुहुन्न, म तिमीहरूलाई सोध्दछु के ती सबै कुराहरू बितिसकेका छन् जसका बारेमा मैले बोलेको छु? के अन्त्य अझै आइसकेको छ? हेर म तिमीहरूसामु भन्दछु, छैन र परमेश्वर आश्चर्यकर्महरूको परमेश्वर हुन रोक्नुभएको छैन।

१६ हेर, के ती कुराहरू जुन परमेश्वरले गर्नुभएको छ हाम्रा आँखाहरूमा विष्मयकारी छैनन्? हो र परमेश्वरका विष्मयकारी कार्यहरू कसले बुझ्न सक्छ?

१७ कसले भन्नेछ कि यो आश्चर्यकर्म होइन कि उहाँको वचनद्वारा स्वर्ग र पृथ्वी हुनुपर्छ; र उहाँका वचनको शक्तिद्वारा पृथ्वीको धूलोबाट मानिसको सृष्टि गरियो; र उहाँका वचनको शक्तिद्वारा आश्चर्यकर्महरू ल्याइएको छ?

१८ अनि कसले भन्नेछ कि येशू ख्रीष्टले धेरै शक्तिशाली आश्चर्यकर्महरू गर्नुभएन? अनि प्रेरितका हातहरूद्वारा त्यहाँ धेरै शक्तिशाली आश्चर्यकर्महरू गरिएका थिए।

१९ अनि यदि त्यहाँ आश्चर्यकर्महरू गरिएको थियो भने, कसरी परमेश्वर आश्चर्यकर्महरूको परमेश्वर हुन रोकिएर र अझै परिवर्तन नहुने व्यक्ति हुनुहुन्छ? अनि हेर, म तिमीहरूलाई भन्दछु उहाँ परिवर्तन हुनुहुन्न; यदि त्यसो भए उहाँ परमेश्वर हुन छोड्नुहुन्थ्यो; र उहाँ परमेश्वर हुन छोड्नुहुन्न र आश्चर्यकर्महरूको परमेश्वर हुनुहुन्छ।

२० अनि उहाँ मानिसका छोराछोरीहरूमाझ आश्चर्यकर्महरू गर्न रोक्नुहुन्छ किनभने उनीहरू विश्वासमा क्षीण हुनेछन् र सही बाटोहरूबाट पर जान्छन् र ती परमेश्वरलाई चिन्दैनन् जसमा उनीहरूले भरोसा गर्नुपर्छ।

२१ हेर, म तिमीहरूलाई भन्दछु जसले ख्रीष्टमा विश्वास गर्छ, कुनै शङ्का नगरी, उसले ख्रीष्टको नाउँमा पितासँग जे अनुरोध गर्छ यो उसलाई दिइनेछ; र यो वाचा सबैका निम्ति हो, पृथ्वीका पल्लो छेउसम्म समेत।

२२ किनकि हेर, येशू ख्रीष्ट, परमेश्वरका पुत्रले उहाँका ती शिष्यहरूसामु जसलाई बस्नुपर्छ भनी भन्नुभएको थियो, हो, उहाँका सबै शिष्यहरूसामु पनि यसो भन्नुभयो, भीडलाई सुनाउन: तिमीहरू सबै संसारसामु जाओ र प्रत्येक प्राणीसामु सुसमाचार प्रचार गर;

२३ अनि जसले विश्वास गर्दछ र बप्तिस्मा लिन्छ उसलाई बचाइनेछ, तर जसले विश्वास गर्दैन ऊ दोषी ठहरिनेछ;

२४ अनि यी चिन्हहरूले उसलाई पछ्याउनेछन् जसले विश्वास गर्दछ—मेरा नाउँमा उनीहरूले दुष्टहरूलाई निकाला गर्नेछन्; उनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्; उनीहरूले सर्पलाई समात्नेछन्; र यदि उनीहरूले मार्नसक्ने कुरा पिए पनि यसले उनीहरूलाई हानि गर्नेछैन; उनीहरू विरामीमाथि हात राख्नेछन् र उनीहरूले चङ्गइ पाउनेछन्;

२५ अनि जसले मेरा नाउँमा विश्वास गर्नेछ, कुनै शङ्का नगरी, उसलाई म मेरा वचनहरू सबै पुष्टि गर्नेछु, पृथ्वीका पल्लो छेउसम्म समेत।

२६ अनि अब, हेर, परमप्रभुका कार्यहरूविरुद्ध को खडा हुन सक्छ? कसले उहाँका भनाइहरूलाई अस्वीकार गर्न सक्छ? परमप्रभुको सर्वशक्तिमान शक्तिविरुद्ध को उठ्नेछ? परमप्रभुका कार्यहरूलाई कसले अपमान गर्नेछ? ख्रीष्टका छोराछोरीहरूलाई कसले अपमान गर्नेछ? हेर, तिमीहरू सबै जो परमप्रभुका कार्यहरूको अपमानकर्ताहरू हौ, किनकि तिमीहरू आश्चर्य मान्नेछौ र विनाश हुनेछौ।

२७ हे त्यसो भए अपमान नगर र आश्चर्य नमान, तर परमप्रभुका वचनहरूलाई सुन र येशूका नाउँमा पितासँग त्यसको अनुरोध गर जेको तिमीहरूलाई आवश्यकता छ। शङ्का नगर, तर विश्वास गर र प्राचीन समयमा जस्तै गरी प्रारम्भ गर र आफ्ना पूर्ण हृदयले परमप्रभुसामु आऊ र उहाँ आगाडिको डर र कम्पनका साथ तिम्रो आफ्नो मुक्ति प्राप्त गर।

२८ तिम्रा परीक्षणका दिनहरूमा विवेकी होऊ; तिम्रा सबै अशुद्धतालाई आफूबाट हटाऊ; नमाग, कि तिमीहरूले आफ्ना लोभमा त्यसलाई भष्म नबनाओ, तर अटल स्थिरताका साथ अनुरोध गर, कि तिमीहरू प्रलोभनमा फस्नेछैनौ, तर कि तिमीहरूले साँचो र जीवित परमेश्वरको सेवा गर्नेछौ।

२९ यो ख्याल राख कि तिमीहरूले अयोग्यतापूर्वक बप्तिस्मा लिन्नौ, यो ख्याल राख कि तिमीहरूले अयोग्यतापूर्वक ख्रीष्टको प्रभुभोज खाँदैनौ; तर यो ख्याल राख कि तिमीहरूले सबै कुराहरू योग्यतामा गर्दछौ र त्यसलाई जीवित परमेश्वरका पुत्र येशू ख्रीष्टको नाउँमा गर्छौ; र यदि तिमीहरूले यसो गरेमा र अन्त्यसम्म सहेमा, तिमीहरूलाई कुनै पनि हालतमा निकाला गरिनेछैन।

३० हेर, म तिमीहरूसामु मृत्युबाट बोलेजस्तै गरी बोल्छु; किनकि मलाई थाहा छ कि तिमीहरूसँग मेरा वचनहरू हुनेछन्।

३१ मेरा कमजोरीका कारण मलाई दोषी नठहऱ्याऊ, न त मेरो पितालाई उहाँका कमजोरीका कारणले, न त तिनीहरूलाई जसले उहाँअगाडि लेखेका छन्; तर बरु परमेश्वरसामु धन्यवाद देऊ कि उहाँले तिमीहरूसामु हाम्रा कमजोरीहरू प्रकट गर्नुभएको छ, कि तिमीहरू हामीभन्दा अझ बढी विवेकी हुन सिक्न सक।

३२ अनि अब, हेर, हामीले हाम्रा ज्ञानअनुसार यो अभिलेख लेखेका छौँ, ती अक्षरहरूमा जसलाई हामीमाझ सुधारिएका मिश्री भनिन्छ, हामीद्वारा हस्तान्तरण गरिएको र परिवर्तन गरिएको हुनाले, हाम्रो भाषाको किसिमअनुसार।

३३ अनि यदि हाम्रा पाताहरू प्रयाप्तमात्रामा ठूला भएका भए हामीले हिब्रूमा लेख्ने थियौँ; तर हिब्रू पनि हामीद्वारा परिवर्तन गरिएको छ; र यदि हामीले हिब्रूमा लेख्न सकेको भए, हेर, तिमीहरूसँग हाम्रो अभिलेखमा कुनै कमजोरी हुँदैनथ्यो।

३४ तर परमप्रभुलाई ती कुराहरू थाहा छ जुन हामीले लेखेका छौँ र यो पनि कि अरु कुनै जनलाई हाम्रो भाषा थाहा छैन; र किनभने कि अरु कुनै जनलाई हाम्रो भाषा थाहा छैन, त्यसकारण उहाँले त्यसको भाषान्तरण गर्ने माध्यम तयार गर्नुभएको छ।

३५ अनि यी कुराहरू लेखिएका छन् कि हामीले हाम्रा वस्त्रहरूबाट हाम्रा वन्धुहरूको रगत हटाउन सकूँ, जो विश्वासमा क्षीण भएका छन्।

३६ अनि हेर, यी कुराहरू जुन हामीले हाम्रा बन्धुहरूका बारेमा चाहेका छौँ, हो, ख्रीष्टको ज्ञानमा उनीहरूको पुनर्स्थापनाको समेत, ती सबै सन्तहरूका प्रार्थनाहरूअनुसार हुन् जो यो भूमिमा बसेका छन्।

३७ अनि परमप्रभु येशू ख्रीष्टले प्रदान गर्नुहोओस् कि उनीहरूको प्रार्थनाहरू उनीहरूका आस्थाअनुसार होऊन्; र परमेश्वर पिताले ती करारलाई सम्झिनुहोस् जुन उहाँले इस्राएलका घरानासँग गर्नुभएको छ; र उहाँले उनीहरूलाई सदासर्वदा, येशू ख्रीष्टमाथिको उनीहरूको विश्वास मार्फत् आसिश दिनुहोओस्।