धर्मशास्त्रहरू
मोर्मोन ७


अध्याय ७

मोर्मोंनले लमानीहरूलाई पछिल्ला दिनहरूमा ख्रीष्टमा विश्वास गर्न, सुसमाचारलाई स्वीकार्न र मुक्ति पाउन निम्त्याउँछन्—जसले बाइबलमा विश्वास गर्दछ उसले मोर्मोनको पुस्तकमा पनि विश्वास गर्नेछ। लगभग ई.सं. ३८५।

अनि अब, हेर, म यी जनका अवशेषसामु केही बोल्दछु जसलाई जोगाइएको छ, यदि यस्तो भयो कि परमेश्वरले उनीहरूलाई मेरा वचनहरू दिनुभयो भने, कि उनीहरूले आफ्ना पितापुर्खाहरुका बारेमा कुराहरू जान्न सकून्; हो, म तिमीहरूसामु बोल्दछु, तिमीहरू इस्राएलका घरानाका अवशेषसामु; र यी ती वचनहरू हुन् जुन म बोल्छु:

तिमीहरूले चिन कि तिमीहरू इस्राएलका घरानाका हौ।

तिमीहरूले जान कि तिमीहरू पश्चात्तापमा आउनु पर्दछ, अन्यथा तिमीहरूलाई बचाउन सकिदैन।

तिमीहरूले जान कि तिमीहरूले युद्धका हतियारहरू त्याग्नुपर्दछ र रगत बगाउनमा अरु आनन्दित हुनुहुँदैन र ती फेरि लिन हुँदैन, यीबाहेक जुन परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुहुनेछ।

तिमीहरूले जान कि तिमीहरू आफ्ना पितापुर्खाहरुको ज्ञानमा आउनुपर्दछ र तिमीहरूका सबै पापहरू र दुष्टताहरूको पश्चात्ताप गर्नुपर्दछ र येशू ख्रीष्टमा विश्वास गर्नुपर्दछ, कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँलाई यहूदीहरूद्वारा बध गरिएको थियो र पिताको शक्तिद्वारा उहाँ फेरि बौरिनुभएको छ, जसबाट उहाँले चिहानमाथि विजय प्राप्त गर्नुभएको छ; र उहाँमा नै मृत्युको खिल निलिएको छ।

अनि उहाँले मृतकहरूको पुनरुत्थान पूरा गर्नुहुन्छ, जुनबाट मानिसलाई उहाँको न्यायको आसनअगाडि खडा हुन उठाइनुपर्दछ।

अनि उहाँले संसारको उद्धार ल्याउनुभएको छ, जसबाट जसलाई उहाँअगाडि निर्दोष फेला पारिन्छ उसलाई परमेश्वरको उपस्थितिमा उहाँको अधिराज्यमा बास बस्न, माथिका भजन मण्डलीहरूसँग नरोकीकन, पिताको र पुत्रको र पवित्र आत्माको, जो एक परमेश्वर हुनुहुन्छ जयजयकार गाउन दिइन्छ, एक खुसियालीको अवस्थामा जसको अन्त्य छैन।

त्यसकारण पश्चात्ताप गर र येशूको नाउँमा बप्तिस्मा लिय र ख्रीष्टको सुसमाचारलाई स्वीकार, जुन तिमीहरूअगाडि हुनेछ, यी अभिलेखहरू मात्र होइन ती अभिलेख पनि जुन यहूदीबाट गैह्र-यहूदीसम्म आउनेछ, जुन अभिलेख गैह्र-यहूदीहरूबाट तिमीहरूसामु आउनेछ।

किनकि हेर, यो त्यो प्रायोजनका निम्ति लेखिएको छ कि तिमीहरूले त्यसमा विश्वास गर्न सक; र यदि तिमीहरूले त्यसमा विश्वास गऱ्यौ भने यसमा पनि विश्वास गर्नेछौ; र यदि तिमीहरूले यसमा विश्वास गऱ्यौ भने तिमीहरूले आफ्ना पितापुर्खाहरुका र ती विस्मयकारी कार्यहरूका बारेमा पनि थाहा पाउनेछौ जुन उनीहरूमाझ परमेश्वरका शक्तिद्वारा ल्याइएको थियो।

१० अनि तिमीहरूले यो पनि थाहापाउनेछौ कि तिमीहरू याकूबका सन्ततिका एक अवशेष हौ; त्यसकारण तिमीहरूलाई प्रथम करारका जनमाझ गणना गरिनेछ; र यदि यस्तो भयो कि तिमीहरूले ख्रीष्टमा विश्वास गऱ्यौ भने र बप्तिस्मा लियौ भने, पहिला पानीले त्यसपछि आगोले र पवित्र आत्माले, हाम्रा मुक्तिदाताको उदाहरणको अनुकरण गर्दै, त्यसअनुसार जुन उहाँले हामीलाई आज्ञा दिनुभएको छ, त्यो न्यायको दिनमा तिमीहरूलाई असल हुनेछ। आमिन।