धर्मशास्त्रहरू
मोरोनी ६


अध्याय ६

पश्चात्तापी व्यक्तिहरूलाई बप्तिस्मा दिइयो र संगतिमा ल्याइयो—पश्चात्ताप गर्ने चर्चका सदस्यहरूलाई क्षमा गरिन्छ—सभाहरू पवित्र आत्माका शक्तिद्वारा सञ्चालन गरिन्छ। लगभग ई.सं. ४०१–४२१।

अनि अब म बप्तिस्माका बारेमा बोल्दछु। हेर, एल्डरहरू, पादरीहरू र शिक्षकहरूलाई बप्तिस्मा दिइएको थियो; र उनीहरूलाई बप्तिस्मा दिएको थिएन यदि उनीहरूले आफ्ना निम्ति योग्य फल नल्याएको भए।

उनीहरूले न त कसैलाई बप्तिस्मामा ग्रहण गरे यदि तिनीहरू चूर्ण हृदय र पछुताएको आत्माका साथ अघि नआएको भए र आफ्ना सबै पापहरूको साँचै नै पश्चात्ताप गरेँ भनी चर्चसामु गवाही नदिएको भए।

अनि उनीहरूले कसैलाई बप्तिस्मामा प्राप्त गरेनन् यदि तिनीहरूले उहाँको सेवा अन्त्यसम्म गर्ने निश्चितताका साथ ख्रीष्टको नाउँ आफूमाथि नलिएको भए।

अनि उनीहरूलाई बप्तिस्मामा ग्रहण गरेपछि र पवित्र आत्माको शक्तिद्वारा ल्याइएपछि र सफा गरेपछि, उनीहरूलाई ख्रीष्टको चर्चका जनमाझ गणना गरियो; र उनीहरूका नाउँहरू लिइयो, ताकि उनीहरूलाई सम्झियोस् र उनीहरूलाई सही बाटोमा राख्न, उनीहरूलाई निरन्तर प्रार्थनामा निगरानीपूर्वक राख्न, उनीहरूको आस्थाका लेखक र अन्त्यकर्ता ख्रीष्टका योग्यताहरूमा मात्र भरोसा गर्दै, परमेश्वरका असल वचनद्वारा पालनपोषण गरियोस्।

अनि उपवास बस्न र प्रार्थना गर्न र उनीहरूका आत्माहरूका कल्याणका बारेमा एक अर्कासँग बोल्न चर्च बारम्बार एकसाथ भेला भयो।

अनि उनीहरू परमप्रभु येशूका सम्झनामा रोटी र दाखमद्ध लिन सधैँ एकसाथ भेला भए।

अनि उनीहरू पालना गर्न अडिग थिए ताकि उनीहरूमाझ कुनै दुष्टता थिएन; र जसले दुष्टता गरेको फेला पारियो र एल्डरहरूका अगाडि चर्चका तीन साक्षीहरूले उनीहरूलाई दोषी ठहराए र यदि उनीहरूले पश्चात्ताप गरेनन् र स्वीकारेनन् भने, उनीहरूका नाउँहरू मेटिन्थे र उनीहरूलाई ख्रीष्टका जनमाझ गणना गरिन्न्थ्यो।

तर जहाँसम्म उनीहरूले, सच्चा अभिप्रायका साथ, पश्चात्ताप गरे र क्षमा खोजे, उनीहरूलाई क्षमा गरियो।

अनि उनीहरूका भेलाहरू चर्चद्वारा आत्माका कार्यहरूअनुसार र पवित्र आत्माका शक्तिद्वारा सञ्चालन गरियो; किनकि प्रवचन दिन होस्, या प्रोत्साहन गर्न होस्, अथवा बिन्ती गर्न होस्, अथवा गाउन नै होस् जसरी पवित्र आत्माको शक्तिले उनीहरूलाई अगुवाइ गऱ्यो, त्यसरी नै यसो गरिएको थियो।