धर्मशास्त्रहरू
याकूब ४


अध्याय ४

सबै अगमवक्ताहरूले पिताको आराधना ख्रीष्टको नाउँमा गरे—अब्राहामको इसाहक अर्पण परमेश्वर र उहाँका जन्माइएका एकमात्र पुत्रको प्रतिरुप थियो—प्रायश्चित्तद्वारा मानिसहरू परमेश्वरसँग मिलाप गर्नु पर्छ—यहूदीहरू जगको ढुङ्गालाई अस्वीकार गर्नेछन्। लगभग ई.पु. ५४४–४२१।

अब हेर, यस्तो हुन गयो कि म, याकूब, वचनमा मेरा मानिसहरूका धेरै सेवा गरेर, (अनि म हाम्रा वचनहरू पाताहरूमा कुँद्नको कठिनाइका कारण, मेरा वचनहरूका थोरै भाग बाहेक लेख्न सक्दिनँ) अनि हामीलाई थाहा छ कि हामी पाताहरूमा जे लेख्दछौँ, त्यो रहनु पर्दछ;

तर पाताहरूमा बाहेक अरु जुनसुकै कुराहरूमा जे लेख्दछौँ त्यो नासिनु अनि हराएर जानु पर्दछ; तर हामी पाताहरूमा केही वचनहरू लेख्न सक्छौँ जसले हाम्रा छोराछोरीहरूलाई, र हाम्रा प्रिय बन्धुरुलाई हाम्रा बारेमा, अथवा उनीहरूका पितापुर्खाहरुका बारेमा थोरै मात्रामा ज्ञान दिनेछ—

अब यी कुराहरूमा हामी खुशी मनाउनेछौँ; अनि हाम्रा प्रिय बन्धुहरूले र हाम्रा छोराछोरीले कृतज्ञताले भरिएको हृदयका साथ यसलाई प्राप्त गर्नेछन्, अनि तिनीहरूमाथि हेर्ने छन् कि उनीहरूले खुशीयालीका साथ र दु:खका साथ होइन, न त विद्रोहका साथ, उनीहरूका प्रथम मातापितापुर्खाहरुका बारेमा सिक्न सकून् भन्ने आशा गरेर हामीले यी वचनहरू पाताहरूमाथि कुँद्न हामी लगनशीलतापूर्वक परिश्रम गर्नेछौँ।

किनकि, यो अभिप्रायका कारण हामीले यी कुराहरू लेखेका हौँ, कि उनीहरूले जान्न सकून् कि हामीलाई ख्रीष्टका बारेमा थाहा थियो, उहाँको आगमन भन्दा सयौँ वर्षअगाडि हामीले उहाँको महिमाको आशा गरेका थियौँ; हामीले मात्र होइन तर हामीभन्दा अगाडिका सबै पवित्र अगमवक्ताहरूले पनि उहाँको महिमाको आशा गरेका थिए।

हेर, उनीहरूले ख्रीष्टमा विश्वास गरे र उहाँको नाउँमा पिताको आराधना गरे, अनि हामीले पनि उहाँको नाउँमा पिताको आराधना गर्छौं। अनि यो अभिप्रायको कारण हामी मोशाको व्यवस्थाको पालना गर्छौं, यसले हाम्रो जीवात्मालाई उहाँतर्फ देखाउँछ; अनि किनकि यो कारणले यसलाई हाम्रासामु धार्मिकताको निम्ति पवित्र पारिएको हो, जसरी अब्राहामलाई समेत आफ्नो छोरा इसहाक अर्पण गरी परमेश्वरको आज्ञाहरूप्रति आज्ञाकारी हुन उजाड स्थानमा यो विवरण समेत दिइएको थियो, जुन परमेश्वर र उहाँका जन्माइएका एकमात्र पुत्रको प्रतिरूप हो।

यसकारण, हामी अगमवक्ताहरूको खोजी गर्छौँ, अनि हामीसँग धेरै प्रकाशहरू र अगमवाणीका आत्मा छन्, अनि यी सबै साक्षीहरू भएकाले हामीले आशा प्राप्त गर्छौँ, अनि हाम्रो आस्था अडिग हुन्छ, यहाँसम्म कि हामीले येशूका नाउँमा आज्ञा दिन सक्छौँ र यी रुखहरूले, अथवा पर्वतहरूले, अथवा समुद्रका छालहरूले हाम्रो पालना गर्छन्।

तैपनि, परमप्रभु परमेश्वरले हाम्रा कमजोरी देखाउनु हुन्छ कि मानिसका छोराछोरीप्रतिको उहाँको अनुग्रह, अनि उहाँको महान् नम्रताद्वारा हामी थाहा पाउन सकौँ, कि हामीसँग यी कुराहरू गर्ने शक्ति छ।

हेर महान् र अद्भूत छन् परमप्रभुका कार्यहरू। उहाँका रहस्यहरूका गहिराइहरू कति खोज्न नसकिने छन्; मानिसलाई उहाँका सबै विधिहरू पत्तालगाउन असम्भव छ। अनि उससामु प्रकट नगरिएका कुनै पनि मानिसले उहाँका विधिहरू थाहा पाउँदैन; यसकारण, बन्धुहरू, परमेश्वरका प्रकाशको अपमान नगर।

किनकि हेर, उहाँको वचनको शक्तिद्वारा मानिस पृथ्वीको सतहमाथि आयो, जुन पृथ्वी उहाँका वचनको शक्तिद्वारा सृष्टि गरिएको हो। यसकारण, यदि परमेश्वर बोलेर पृथ्वी बनाउन सक्षम हुनुहुन्छ, अनि बोलेर मानिसको सृष्टि भयो भने, हे त्यसोभए, उहाँको इच्छा र चाहानाअनुसार, पृथ्वी, अथवा यसको सतहमा रहेका उहाँका हातहरूका शिल्पकलालाई आज्ञा दिन किन सक्नुहुन्न?

१० यसकारण, बन्धुहरू, परमप्रभुलाई परामर्श दिन नखोज, तर उहाँको हातबाट परामर्श लेओ। किनकि हेर, तिमीहरू आफैँलाई थाहा छ कि उहाँ विवेकमा, अनि न्यायमा, अनि महान् कृपामा, उहाँका सबै कार्यहरूमाथि परामर्श दिनुहुन्छ।

११ यसकारण, प्रिय बन्धुहरू, उहाँका जन्माइएका एकमात्र पुत्र, ख्रीष्टको प्रायश्चित्त मार्फत् उहाँमा मिलाप गर, अनि ख्रीष्टमा भएको पुनरुत्थानको शक्तिअनुसार, पुनरुत्थान प्राप्त गर, अनि आस्था भएकाले परमेश्वरसामु ख्रीष्टको पहिलो फलका रुपमा प्रस्तुत होऊ, उहाँ शरीरमा आफैँ प्रकट हुनुभन्दा अघि उहाँबाट एक असल आशाको महिमा प्राप्त गर।

१२ अनि अब, प्रिय, आश्चर्य नठान कि म यी कुराहरू तिमीहरूलाई भन्दछु, किनकि ख्रीष्टको प्रायश्चित्तका बारेमा किन नबोल्ने, उहाँको पूर्ण ज्ञान किन नपाउने, पुनरुत्थानको र आउने संसारको ज्ञान किन प्राप्त नगर्ने?

१३ हेर, मेरा बन्धुहरू, ऊ जसले अगमवाणी गर्दछ, उसलाई मानिसहरूका सुझबुझअनुसार अगमवाणी गर्न देऊ; किनकि आत्माले सत्य बोल्दछ र ढाँट्दैन। यसकारण, यसले साँचैका अहिलेका कुराहरूका, अनि साँचैका हुने कुराहरूका बारेमा बोल्दछ; यसकारण, हाम्रो जीवात्माको मुक्तिका निम्ति, यी कुराहरू सरलताका साथ हामीहरूसामु प्रकट गरिएको हो। तर हेर, यी कुराहरूमा हामी एक्लो साक्षी होइनौँ; किनकि परमेश्वरले पहिलेका अगमवक्ताहरूसामु पनि ती बोल्नुभयो।

१४ तर हेर, यहूदीहरू हठी जन थिए; अनि उनीहरूले सरलताका वचनहरूका अपमान गरे, अनि अगमवक्ताहरूलाई मारे, अनि उनीहरूले बुझ्न नसक्ने कुराहरूका खोजि गरे। यसकारण, चिन्हभन्दा पर खोजेर आएको उनीहरूको अन्धोपनका कारण, उनीहरूका पतन हुनु आवश्यक छ; किनकि परमेश्वरले उहाँको सरलतालाई उनीहरूबाट हरण गर्नुभएको छ, अनि उनीहरूलाई उनीहरूले बुझ्न नसक्ने धेरै कुराहरू दिनुभएको छ, किनभने उनीहरूले त्यसको चाहाना गरे। अनि किनभने उनीहरूले त्यसको चाहना गरेको हुनाले परमेश्वरले सो गर्नुभयो, कि उनीहरू अल्झऊन।

१५ अनि अब, म, याकूब आत्माद्वारा अगमवाणी गर्न अगुवाइ गरिएको छु; किनकि म आफूमा भएको आत्माको कार्यहरूद्वारा थाहा पाउँछु, कि यहूदीहरूका अल्झाईद्वारा जुन ढुङ्गामा उनीहरूको सुरक्षित जग बसालेर निर्माण गर्नुपर्ने हो, त्यसलाई उनीहरू अस्वीकार गर्नेछन्।

१६ तर हेर, धर्मशास्त्रअनुसार, यो ढुङ्गा विशाल बन्नेछ, अनि अन्त्यमा, अनि एकमात्र बलियो जग, जसमाथि यहूदीहरू निर्माण गर्न सक्नेछन्।

१७ अनि अब, मेरा प्रिय, कसरी यो सम्भव छ कि त्यो बलियो जगलाई अस्वीकार गरेपछि, उनीहरू त्यसमाथि कहिल्यै निर्माण गर्न सक्ने छैनन्, कि त्यो उनीहरूका कुनाको शिर बन्न सकोस्?

१८ हेर, मेरा प्रिय बन्धुहरू, म यी रहस्यहरू तिमीहरूसामु खुलासा गर्नेछु; यदि तिमीहरूप्रतिको मेरो चिन्ताको कारण म, कुनै कारणबस, आत्माको स्थिरतामा विचलित भइनँ र अल्झिइनँ भने।