धर्मशास्त्रहरू
याकूब ३


अध्याय ३

हृदयमा शुद्ध हुनेले परमेश्वरका खुशीका वचन प्राप्त गर्दछन्—लमानीको धर्मिकताले नफीहरूलाई उछिन्छ—याकूब व्यभिचार, लम्पटपना र प्रत्येक पापका विरुद्ध चेतावनि दिन्छन्। लगभग ई.पु. ५४४–४२१।

तर हेर, म याकूब, हृदयमा शुद्ध भएका तिमीहरूसामु बोल्दछु। आफ्नो हृदयको दृड़ताका साथ परमेश्वरतर्फ हेर, अनि उहाँसामु अत्यन्त आस्थाका साथ प्रार्थना गर, अनि उहाँले तिमीहरूका कष्टहरूमा तिमीहरूलाई सान्त्वना दिनुहुन्छ, अनि तिमीहरूका निम्ति बिन्ती गर्नुहुन्छ, अनि तिमीहरूका विनाश खोज्नेमाथि उहाँको न्याय पठाउनु हुन्छ।

हे तिमीहरू सबै जो हृदयमा शुद्ध छौ, तिम्रा शिरहरू उचाल र परमेश्वरका खुशीका वचन प्राप्त गर, अनि उहाँको मायामा भोज गर; किनकि यदि तिमीहरूका हृदयहरू दृढ भए तिमीहरू सदासर्वदा रहन सक्छौ।

तर, धिक्कार, धिक्कार छ, तिमीहरूलाई जो हृदयमा शुद्ध छैनौ, जो यो दिन परमेश्वरअगाडि घिनलाग्दो छौ; किनकि तिमीहरूले पश्चात्ताप नगरे यो भूमि तिम्रा निम्ति श्रापित छ; अनि तिमीहरू जतिकै घिनलाग्दा नभएका तैपनि कष्टप्रद श्रापले श्रापित भएका, लमानीहरूले तिमीहरूलाई विनाश हुने गरीसम्म समेत कोर्रा हान्नेछन्।

अनि यो समय द्रूतगतिले आउनेछ, कि यदि तिमीहरूले पश्चात्ताप नगरे उनीहरूले तिमीहरूका रिक्थको भूमि स्वामित्वमा लिनेछन्, अनि परमप्रभु परमेश्वरले तिमीहरूमाझबाट धर्मीहरूलाई अगुवाइ गरेर बाहिर लैजानुहुनेछ।

हेर, तिमीहरूका बन्धु लमानीहरूलाई, जसलाई तिमीहरू उनीहरूका घिनलाग्दोपना र उनीहरूका छालामा आएको श्रापको कारणले घृणा गर्दछौ, उनीहरू तिमीहरूभन्दा धर्मी छन्; किनकि उनीहरूले हाम्रा पितालाई दिएको आज्ञालाई बिर्सेका छैनन्—कि उनीहरूका एक मात्र श्रीमती हुनुपर्छ, अनि उनीहरूका रखौटीहरू हुनुहुँदैन, अनि उनीहरूमाझ वेश्यावृत्ति गरिएको हुनुहुँदैन।

अनि अब, उनीहरूले यो आज्ञा पालना गर्न प्रयत्न गरे; यसकारण, यो आज्ञा पालना गर्ने प्रयत्नमा उनीहरूका यो आज्ञाकारिताको कारणले, परमप्रभु परमेश्वरले उनीहरूका विनाश गर्नु हुनेछैन, तर, उनीहरू प्रति दयालु हुनुहुनेछ; अनि एक दिन उनीहरू एक आशीषित मानिसहरू बन्नेछन्।

हेर, उनीहरूका श्रीमान्‌हरुले आफ्ना श्रीमतीहरूलाई माया गर्छन्, अनि उनीहरूका श्रीमतीहरूले आफ्ना श्रीमान्‌हरूलाई माया गर्छन्; अनि उनीहरूका श्रीमती र श्रीमान्‌हरूले उनीहरूका छोराछोरीहरूलाई माया गर्छन्; अनि उनीहरूका अविश्वास र तिमीहरू प्रतिको घृणा उनीहरूका पितापुर्खाहरुका दुष्टताको कारण हो; यसकारण, तिमीहरूका महान् सृष्टिकर्ताको नजरमा तिमीहरू उनीहरूभन्दा कति नै असल छौ?

हे मेरा बन्धुहरू, मलाई डर छ कि यदि तिमीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरेनौ भने, जब तिमीहरूलाई उनीहरूसँग परमेश्वरको सिंहासनअगाडि ल्याइन्छ, उनीहरूका छाला तिमीहरूका भन्दा सफेद हुनेछन्।

यसकारण, म तिमीहरूलाई आज्ञा दिन्छु, जुन परमेश्वरको वचन हो, कि तिमीहरूले उनीहरूका छालाको कालोपनाको कारण उनीहरूका विरुद्ध निन्दा नगर्नू, न त उनीहरूका घिनलाग्दोपनाको कारण उनीहरूका विरुद्ध निन्दा गर्नू, तर तिमीहरूले आफ्नै घिनलाग्दोपनालाई सम्झनू, अनि सम्झनू कि उनीहरूका घिनलाग्दोपना उनीहरूका पितापुर्खाहरुका कारण आयो।

१० यसकारण, तिमीहरूले तिमीहरूका छोराछोरीलाई सम्झनू, तिमीहरूले उनीहरूअगाडि दिएको उदाहरणको कारण तिमीहरूले उनीहरूका हृदयलाई शोकमा पारेका छौ; अनि तिमीहरूले यो पनि सम्झनू कि तिमीहरूका घिनलाग्दोपनाको कारण तिमीहरूले तिमीहरूका छोराछोरीहरूमा विनाश ल्याउन सक्नेछौ, अनि उनीहरूका पापहरू ती अन्तिम दिनमा तिमीहरूका शिरमाथि थुपारिने छ।

११ हे मेरा बन्धुहरू, मेरा वचनहरूलाई सुन, तिमीहरूका जीवात्माहरूका सामर्थ्यलाई उठाऊ, आफैँलाई हल्लाऊ कि तिमीहरू मृत्युको निन्द्राबाट उठ्न सक; अनि नरकका पीडाहरूबाट आफैँलाई छुट्कारा गर कि दोस्रो मृत्युको रुपमा आगो र गन्धकको त्यो कुण्डमा फालिन सैतानका दूतहरू बन्न नपरोस्।

१२ अनि अब, म, याकूब, व्यभिचार र लम्पटपना र अनि प्रत्येक प्रकारका पापहरूका विरुद्ध चेतावनी दिँदै, तिनीहरूका त्यो भयावह नतिजाहरू उनीहरूलाई बताउँदै, नफीका जनसामु धेरै कुराहरू बोलेँ।

१३ अनि, अब अनगिन्ति बन्न थालेका, यी मानिसहरूका काम-कारबाहीहरूका एक सयांश पनि यी पाताहरूमा लेख्न सकिँदैन; तर उनीहरूका काम-कारवाहीहरूमध्ये धेरै, अनि उनीहरूका युद्ध र उनीहरूका कलह र उनीहरूका राजाहरूका शासनहरू ती ठूला पाताहरूमा लेखिएको छ।

१४ यी पाताहरूलाई याकूबका पाताहरू भनिन्छ, अनि तिनीहरू नफीका हातद्वारा बनाइएका हुन्। अनि म यी वचनहरू बोल्न अन्त्य गर्दछु।