साधारण सम्मेलन
मन्दिरहरू, परमप्रभुका गृह पृथ्वीमा निर्माण गरिँदै
शब्दहरूको महत्त्व छ


मन्दिरहरू, परमप्रभुका गृह पृथ्वीमा निर्माण गरिँदै

जब तपाईंहरू उहाँको पवित्र गृहमा योग्यताका साथ र प्रार्थनापूर्वक आउनुहुन्छ, तपाईंहरू उहाँको शक्तिले सुसज्जित हुनुहुने छ ।

हामीले भर्खरै गाएका सुन्दर शब्दहरू के तपाईंहरूलाई मन पर्दैन? “म तिमीलाई मजबुत बनाउने छु, तिमीलाई सहयोग गर्ने छु र तिमीलाई खडा गराउने छु, … मेरो धर्मी, सर्वशक्तिमान् हातले उठाएको छ ।” परमप्रभुले उहाँको पवित्र गृहमा आउँदा सबै उमेरका आफ्ना सन्तहरूलाई मजबुत बनाउँदै हुनुहुन्छ । किन्शासादेखि जोलिकोफेन, फुकुओकादेखि ओकल्यान्डसम्म, युवाहरू, आफ्नै पहलमा, मन्दिरका बप्तिस्माका कुण्डहरूतर्फ आउँदै छन् । विगतमा, विधि निर्वाह गर्ने सबैभन्दा प्रिय कार्यकर्ताहरूका कपाल फुलेका हुन्थे—तर अब छैन । बोलावट गरिएका सुसमाचार प्रचारकहरू, सेवा गर्ने सुसमाचार प्रचारकहरू र सेवा सकिएर फर्केका सुसमाचार प्रचारकहरू चारैतिर छन् । संसारभरि परमप्रभुको गृहमा हामीलाई तानिएको महसुस भइरहेको छ ।

एक वर्षअघि मात्रै, संयुक्त राज्य अमेरिकाको पूर्वी तटमा बसोबास गर्ने ९५ वर्षकी प्रिय परिवारिक साथी, जसलाई ७० वर्षदेखि सुसमाचार प्रचारकहरूले सिकाएका थिए, आफ्नी छोरीलाई भनिन्, “म तिमीसँग मन्दिर जान चाहन्छु ।”

उनकी छोरीले जवाफ दिइन्, “ठीक छ, आमा, तपाईंले पहिले बप्तिस्मा लिनु पर्छ ।”

छवि
वृद्ध दिदीको बप्तिस्मा ।

“ठीक छ,” उनले जवाफ दिइन्, “त्यसो भए, म बप्तिस्मा लिन चाहन्छु ।” उनले बप्तिस्मा लिईन् । केही दिन पछि, श्रद्धापूर्वक उनी मन्दिरको बप्तिस्मा कुण्डमा पसिन् । अनि एक महिना अघि मात्रै, उनले आफ्नै अभिदान र बन्धन प्राप्त गरिन् । “परमेश्वरको ज्ञान र शक्ति विस्तार हुँदै छ; पृथ्वीमाथिको पर्दा फाट्न थालेको छ ।”

छवि
मन्दिर अगाडि वृद्ध दिदी ।

के तपाहरूईंले सोच्नुभएको छ कि किन परमप्रभुले आफ्ना अगमवक्तालाई पृथ्वीमा अहिले उहाँका पवित्र मन्दिरहरू निर्माण गर्न निर्देशन दिनुहुन्छ? किन उहाँले, यस विशेष समयमा, आफ्ना करारबद्ध जनहरूलाई आवश्यक समृद्धि दिनुहुने छ ताकि तिनीहरूको पवित्र दशांशद्वारा, परमप्रभुका सयौँ गृहहरू निर्माण गर्न सकिन्छ?

आज बिहान, अध्यक्ष ओक्सले विश्वभर निर्माण भइरहेका मन्दिरहरूको सुन्दर दृश्य देखाउनुभयो । क्याथी र म भर्खरै फिलिपिन्समा गएका थियौँ । यो चमत्कारका सम्बन्धमा मनन गर्नुहोस्: मनिला मन्दिर १९८४ मा समर्पित गरिएको थियो । २०१०मा सिबु शहरमा दोस्रो मन्दिर पूर्ण भएको २६ वर्ष भएको छ । आज, १४ वर्ष पछि, ११ मन्दिरहरू निर्माण, योजना वा समर्पणका लागि तयारी हुँदै छ । उत्तर देखि दक्षिणसम्म: लाओग, तुगेगराओ, सान्टिएगो, ऊर्दानेता, आलाबाङ्ग, नागा, ताक्लोबान सहर, इलोइलो, बाकोलोद, कगायन डि ओरो र डभाओ । परमेश्वरका विष्मयकारी कार्यहरू देख्न पाउँदा आश्चर्य लाग्छ!

छवि
फिलिपिन्समा मन्दिरहरू ।

विश्वभरि, परमप्रभुका गृहहरू हाम्रो नजिक आउँदै छन् । हाम्रो दिनमा किन?

अन्तिम दिनहरू

परमप्रभुले चेतावनी दिनुभयो कि अन्तिम दिनहरूमा, राष्ट्रहरूका माझमा सङ्कट आउने छ, मानिसहरू “आफूस्वयम् लाई मात्र प्रेम गर्ने हुन्छन्,” “सबै विषयवस्तुहरूमा होहल्ला [हुने छ],” अन्योल छाउने छ, र “मानिसहरूले आफ्नो साहस गुमाउने [छन्] ।” हामीले निश्चय नै पुरुष र महिलाहरूले आफ्ना साहस गुमाएको देखेका छौँ: संसारको लोभ लालच, लोभ्याउने आवाजहरूले आकर्षित गरेको, आध्यात्मिक पोषणको उपेक्षा गरेको, शिष्यत्वको मागबाट थाकेका । संभवतः तपाईंहरूले मन पराउने व्यक्ति अहिलेका लागि चर्चमा आफ्ना विश्वासबाट अचानक टाढा गएको देखेर, तपाईंहरूलाई दुःख लागेको हुन सक्छ, जसले कुनै समय येशू ख्रीष्टमा आफ्नो आस्थाको इमानदारीपूर्वक बोलेका थिए, मोर्मोनको पुस्तकको गवाही दिएका थिए र परमेश्वरको अधिराज्य निर्माण गर्न उत्सुकतापूर्वक सहयोग गरेका थिए । तपाईंहरूलाई मेरो सल्लाह छ, निराश नहुनुहोस्! सबै ठीक छ । किनकि परमेश्वरका लागि केही असम्भव छैन ।

संसारमा यो भविष्यवाणी गरिएको होहल्ला र अविश्वासका साथ, परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि त्यहाँ करारबद्ध मानिसहरू हुने छन्, उहाँको पुनरागमनको लागि उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका मानिसहरू; मानिसहरू जो पवित्र स्थानहरूमा उभिन्छन् र आफ्नो स्थानबाट कतै सर्दैनन् । उहाँले विरोधीको छलकपटलाई प्रतिरोध गर्ने, आफ्नो आस्थालाई अनुशासित गर्ने, सेलेस्टियल सोच्ने र मुक्तिदाता येशू ख्रीष्टमा पूर्ण रूपमा भरोसा गर्ने धर्मी मानिसहरूका सम्बन्धमा बताउनुभयो ।

किन अहिले परमप्रभुले आफ्ना सयौँ मन्दिरहरूलाई हाम्रो नजिक ल्याइरहनुभएको छ? एउटा कारण के हो भने संसारका उथलपुथल र प्रलोभनहरूका बीचमा, उहाँले आफ्ना करारबद्ध सन्तहरूलाई मजबुत पार्ने र आशीर्वाद दिने प्रतिज्ञा गर्नुभएको छ र उहाँका प्रतिज्ञाहरू पूरा हुँदै छन् ।

कर्टल्याण्ड मन्दिरबाट प्रतिज्ञाहरू

यी पवित्र गृहहरूले हामीलाई कसरी बलियो बनाउँछ, सान्त्वना र सुरक्षा दिन्छ? हामीले कर्टल्याण्ड मन्दिरको समर्पणमा अगमवक्ता जोसेफ स्मिथका बिन्तीहरूमा जवाफ प्राप्त गर्छौँ । यो यही मन्दिर थियो जहाँ सन्तहरूले गाएका थिए, “हामी गाउने छौँ र हामी स्वर्गका सेनाहरूसँगै चिच्याउने छौँ ।” मुक्तिदाता आफूस्वयम् प्रकट हुनुभयो र पुनर्स्थापित् सुसमाचारलाई थप पादरित्वका साँचाहरू प्रदान गर्दै पुरातन कालका अगमवक्ताहरूको पुनरागमन भयो ।

कर्टल्याण्ड मन्दिरमा त्यो पवित्र अवसरमा, अगमवक्ताले प्रार्थना गरे कि परमप्रभुको पवित्र गृहमा, सन्तहरू परमेश्वरको शक्तिले सशस्त्र हुने छन्, कि येशू ख्रीष्टको नाम तिनीहरूमाथि रहने छ, कि उहाँका स्वर्गदूतहरूले उनीहरूमाथिको उत्तरदायित्व लिन सक्ने छन् र तिनीहरूले परमप्रभुमा प्रगति गर्ने छन् र पवित्र आत्माको पूर्णता प्राप्त गर्ने छन् । यी शक्तिशाली बिन्तीहरू हाम्रा जीवनमा पूर्ण हुन्छन् जब हामी आस्थावान् भएर परमप्रभुको गृहमा आराधना गर्छौँ ।

शक्तिका साथ सशस्त्र

उहाँको गृहमा, हामी वास्तवमा नै स्वर्गको शक्तिले सम्पन्न हुन्छौँ । येशू ख्रीष्टमा हाम्रो आस्था र उहाँमा हाम्रो प्रेम दृढ र मजबुत हुन्छ । हामी आफ्नो वास्तविक पहिचान र जीवनका उद्देश्यहरूका सम्बन्धमा आत्मिक रूपमा आश्वस्त हुन्छौँ । हामी आस्थावान् भएमा, हामीले प्रलोभन र खराब आकर्षणहरूबाट सुरक्षाको आशीष‌ प्राप्त गर्छौँ । जब मुक्तिदाताले हामीलाई हाम्रा कठिनाइहरू र हाम्रा दुःखहरूबाट उठाउनुहुन्छ हामी हाम्रा मुक्तिदाताको प्रेम महसुस गर्छौँ । हामी परमेश्वरको शक्तिले सशस्त्र छौँ ।

हामीमा उहाँको नाम

उहाँको पवित्र गृहमा, हामी उहाँको नामलाई हामीमाथि पूर्ण रूपमा लिन्छौँ । जब हामी बप्तिस्मा लिन्छौँ, हामी उहाँमा हाम्रो विश्वास र उहाँका आज्ञाहरू पालना गर्ने हाम्रो चाहनालाई स्वीकार गर्छौँ । मन्दिरमा, हामी उहाँलाई सदाका लागि अनुशरण गर्ने हाम्रा करारहरू मार्फत् श्रद्धापूर्वक सङ्कल्प गर्छौँ ।

छवि
हिबर भ्याली यूटा मन्दिरको समर्पण ।

यस चर्चका युवाहरू विश्वसनीय छन् । यस कठिन संसारमा, तिनीहरूले आफूस्वयम् मा ख्रीष्टको नाम लिन्छन् । हिबर सिटी, यूटामा, निर्माणको लागि योजना गरिएको मन्दिरको विवरणहरू छलफल गर्न एक सार्वजनिक सभाको आयोजना गरियो । प्रस्तावित मन्दिरलाई समर्थन गरेको देखाउन तीन सय युवाहरूद्वारा छेउको पार्क भरिएका थिए । सरकारी नेताहरूसँग खुला मञ्चमा विषय गर्दै एक युवकले साहसपूर्वक व्याख्या गरे, “म यही मन्दिरमा विवाह गर्ने आशामा छु । [मन्दिरले] मलाई आफूस्वयम् लाई स्वच्छ र शुद्ध राख्न सहयोग गर्ने छ ।” अर्कोले मन्दिरलाई प्रकाश र आशाको प्रतीकका रूपमा वर्णन गरे । संसारभरिका चर्चका युवा र युवतीहरूले येशू ख्रीष्टको नामलाई अङकमाल गरिरहेका छन् ।

छवि
हिबर सिटीको पार्कमा युवाहरू भरिँदै

हामीसँग स्वर्गदूतहरू

कर्टल्याण्ड मन्दिरमा, अगमवक्ता जोसेफले प्रार्थना गरे कि “स्वर्गदूतहरूले [उहाँका सन्तहरू] माथिको उत्तरदायित्व लिने छन् ।” मन्दिरमा हाम्रा पुर्खाहरूका लागि विधिहरू निरन्तर निर्वाह गर्नाले एक मधुर र निश्चित पुष्टि ल्याउँछ कि जीवन पर्दा बाहिर जारी रहन्छ ।

परमप्रभुको गृहमा प्राप्त हुने हाम्रा धेरै अनुभवहरू सार्वजनिक रूपमा बाँढ़्न धेरै पवित्र भएकाले, हामीले केही मात्र बाँढ़्न सक्छौँ । चालीस वर्षअघि फ्लोरिडामा बसोबास गर्दा, क्याथी र म जर्जियाको एट्लान्टाको मन्दिरमा गयौँ । बुधवार राती, मे ९, १९८४ मा, हामीले मन्दिरमा एक सत्र पूरा गरिसकेपछि, विधि निर्वाह गर्ने कार्यकर्ता मकहाँ आए र अर्को एउटा प्रारम्भिक तयारी विधि पूर्ण गर्न मसँग समय छ कि भनेर सोधे । मैले प्रतिनिधित्व गरेको व्यक्तिको नाम असामान्य थियो । उनको नाम एलियाजर सर्सी थियो ।

भोलिपल्ट मन्दिर सन्तहरूले भरिएको थियो । जब मैले त्यस दिनको मेरो दोस्रो अभिदान निर्वाह गर्ने तयारी गर्दै थिएँ, मलाई मैले प्रतिनिधित्व गर्ने व्यक्तिको नाम दिइयो । अचम्मको विषय, अघिल्लो रात मलाई दिइएको नाम त्यही व्यक्तिको नाम थियो, एलियाजर सर्सी । जब अभिदान पूर्ण भयो मैले परमप्रभुको आत्माको अनुभूति गरेँ । पछि दिउँसो, मन्दिर भित्रै, क्याथीले अहिले एटलान्टामा बसोबास गर्नुहुने एक वृद्ध पारिवारिक साथी, दिदी डली फर्नान्डेजलाई देखिन् । आफ्नो परिवारको कुनै पुरुष सदस्य आफूसँग उपस्थित नभएकाले, सम्भव भए उनको बुबाका आमाबुवालाई उनको बुबासँग बाँध्न के मैले सहयोग गर्न सक्छु कि भनेर उनले सोधिन् । म अवश्य नै सम्मानित भएँ ।

जब मैले यस पवित्र विधिका लागि वेदीको छेउमा घुँडा टेकेँ, मैले पुन: एक पटक मेरो मस्तिष्कमा कुँदिएको नाम सुनेँ, उनका पिता, इलियाजर सर्सी । मलाई पूर्ण विश्वास छ कि यस जीवन पश्चात्, मैले एक व्यक्तिलाई भेट्ने छु र अँगालो हाल्ने छु जसको यस नश्वर जीवनमा नाम थियो इलियाजर सर्सी ।

परमप्रभुको गृहमा हाम्रा धेरैजसो अनुभवहरूले नाटकीय हस्तक्षेप भन्दा बढी आनन्दमय शान्ति र शान्त प्रकाश ल्याउँछ । तर आश्वस्त हुनुहोस्: स्वर्गदूतहरू हामीमाथि जिम्मेवार छन्!

पवित्र आत्माको पूर्णता

जब हामीलाई चर्चको सदस्य भएको पुष्टि गरिन्छ हामीलाई पवित्र आत्माको उपहार दिइन्छ । हरेक हप्ता जब हामी हाम्रो मुक्तिदाताको सम्झनामा रोटी र पानी योग्यताका साथ ग्रहण गर्छौँ, हामीलाई उहाँको आत्मा सदैव हामीसँग रहने प्रतिज्ञा गरिन्छ । जब हामी पृथ्वीको सबैभन्दा पवित्र स्थान, परमप्रभुको गृहमा इच्छुक हृदयसहित आउँछौँ, हामी परमप्रभुमा प्रगति गर्छौँ र “पवित्र आत्माको पूर्णता प्राप्त गर्छौँ ।” पवित्र आत्माको शक्तिद्वारा, हामी शान्ति र आनन्द र अकथनीय आशाले भरिन्छौँ । हामीले आफूलाई पवित्र स्थानहरूबाट बाहिर भेट्टाउँदा पनि उहाँका शिष्यहरू भइ रहन सामर्थ्य प्राप्त गर्दछौँ ।

अध्यक्ष रसल एम्. नेल्सनले घोषणा गर्नुभएको छ: “हाम्रो मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्टले अहिले र उहाँ पुन: आउनुहुँदा उहाँका अति नै महान कार्यहरू गर्नुहुने छ । परमेश्वर पिता र … येशू ख्रीष्टले … यस चर्चलाई वैभव र महिमामा अध्यक्षता गर्नुहुन्छ भनी हामीले चमत्कारी सङ्केतहरू देख्ने छौँ ।” पृथ्वीमा परमप्रभुका गृहहरू निर्माण गरिनु शक्तिशाली कार्य र चमत्कारी सङ्केत हो ।

मेरा प्रिय मित्रहरू, यदि हामी सक्षम छौँ र हामीले मन्दिरमा हाम्रो उपस्थिति बढाएका छैनौ भने, हामीले नियमित रूपमा परमप्रभुको गृहमा आराधना गर्न थप समय निकालौँ । संसारभरि घोषणा गरिएका मन्दिरहरूका लागि हामी प्रार्थना गरौँ, ताकि सम्पत्तिहरू खरिद गर्न सकिन्छन्, कि सरकारहरूले योजनाहरू अनुमोदन गर्ने छन्, कि प्रतिभाशाली कार्यकर्ताहरूले उनीहरूका प्रतिभाहरूमा वृद्धि भएको देख्ने छन् र पवित्र समर्पणहरूले स्वर्गको स्वीकृति ल्याउने छन् र स्वर्गदूतहरूले भ्रमण गर्ने छन् ।

प्रतिज्ञाहरू

मन्दिर साच्चैँ नै परमप्रभुको गृह हो । म तपाईंहरूसँग वाचा गर्दछु कि तपाईंहरू उहाँको पवित्र गृहमा योग्यता र प्रार्थनापूर्वक आउनुभएमा, तपाईंहरू उहाँको शक्तिले सशस्त्र हुनुहुने छ, उहाँको नाम तपाईंहरूमाथि रहने छ, उहाँका स्वर्गदूतहरूले तपाईंहरूमाथिको उत्तरदायित्व लिने छन् र तपाईंहरू पवित्र आत्माको आशीर्वाद मा हुर्कनुहुने छ ।

परमप्रभुले प्रतिज्ञा गर्नुभयो, “हरेक आत्मा जसले आफ्ना पापहरू त्यागेर मकहाँ आउँछ र मेरो नाम पुकार्छ र मेरो वाणीको पालना गर्छ र मेरा आज्ञाहरू पालना गर्छ, उसले मेरो मुहार देख्ने छ र म नै हुँ भनी जान्दछ ।” ख्रीष्टको मुहार हेर्नका लागि धेरै फरक तरिकाहरू छन् र उहाँको पवित्र गृहभन्दा राम्रो स्थान अन्य कुनै छैन ।

यस अन्योल र व्याकुलताको समयमा, म गवाही दिन्छु कि मन्दिर उहाँको पवित्र गृह हो र यसले हामीलाई जोगाउने छ, सुरक्षा दिने छ र उहाँका सबै पवित्र स्वर्गदूतहरूसँग, हाम्रो अगमवक्ता वैभव, शक्ति र महान् महिमामा फर्कनुहुने महिमित दिनका लागि हामीलाई तयार गर्न सहयोग गर्ने छ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. “How Firm a Foundation,” Hymns, नं. ८५ ।

  2. “The Spirit of God,” Hymns, नं. २ ।

  3. हाल १८२ मन्दिरहरू सञ्चालनमा छन् । छ वटा पुनर्निर्माणका क्रममा छन् । सात समर्पणको प्रतिक्षामा छन् र अर्का पुनः समर्पणका लागि प्रतिक्षामा रहेका छन् । ४५ वटा निर्माणाधीन अवस्थामा छन् र थप ९४ वटा घोषणा भइसकेका छन् वा योजना र रचनामा छन् ।

  4. हेर्नुहोस् लूका २१:१०

  5. २ तिमोथी ३:२

  6. सिद्धान्त र करार ८८:९१

  7. एल्डर डेभिड ए. बेड्नारले भन्नुभयो: “सुसमाचारका सिद्धान्तहरू मेरा र तपाईंहरूका लागि हुन् जसरी एउटा जहाजका लागि नियन्त्रक हुन्छ ।” सही सिद्धान्तहरूले हामीलाई हाम्रो मार्ग पत्ता लगाउन र दृढ, अटल र अचल भई खडा हुन सक्षम बनाउँछन् ताकि हामीले आफ्नो सन्तुलन गुमाउँदैनौँ र पछिल्ला दिनमा अँध्यारा र भ्रमका विशाल आँधीबेहरीमा खस्दैनौँ (“The Principles of My Gospel,” Liahona, मे, २०२१, १२६)।

  8. सिद्धान्त र करार ४५: २६

  9. “यदि कोही मेरो पछि आउने चाहना गर्छ भने, उसले आफूलाई अस्वीकार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्” (मत्ती १६:२४)।

  10. हेर्नुहोस् लूका १:३७

  11. हेर्नुहोस् सिद्धान्त र करार ८७:८

  12. भजनहरू नं. २ ।

  13. हेर्नुहोस् सिद्धान्त र करार ११० । यस समय भन्दा पहिले, अगमवक्ता जोसेफ स्मिथले बप्तिस्मा दिने यूहन्नाबाट हारुनको पादरित्व र यसका साँचाहरू प्राप्त गरेका थिए र उनले मल्किसेदेक पादरित्व र यसका साँचाहरू प्रेरित पत्रुस, याकूब र यूहन्नाबाट प्राप्त गरेका थिए ।(हेर्नुहोस् सिद्धान्त र करार १३:१; २७:१२-१३)।

  14. सिद्धान्त र करार १०९:१५; पद २२पनि हेर्नुहोस् ।

  15. अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो, “मन्दिरले हामीलाई हाम्रो खोजमा सहयोग गर्न सक्छ । त्यहाँ हामी परमेश्वरको शक्तिले सम्पन्न हुन्छौँ, जसले हामीलाई सबै विवादको उत्प्रेरक सैतानमाथि विजय प्राप्त गर्न सक्ने क्षमता प्रदान गर्छ” (“Peacemakers Needed,” Liahona, मे २०२३, १०१)।

  16. हेर्नुहोस् रसल एम्. नेल्सन, “Choices for Eternity” (worldwide devotional for young adults, मे १५, २०२२), सुसमाचारको पुस्तकालय ।

  17. एल्डर कलिन स्टफर, व्यक्तिगत पत्राचार, जनवरी ३०, २०२४ ।

  18. सिद्धान्त र करार १०९:२२

  19. हेर्नुहोस् सिद्धान्त र करार २०:७७, ७९

  20. सिद्धान्त र करार १०९:१५

  21. हेर्नुहोस् रोमी १५:१३

  22. रसल एम्. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” Liahona, मे २०१८, ९६ ।

  23. अध्यक्ष ब्रिघम यङ्गले भन्नुभयो, “हामीसँग सयौँ मन्दिरहरू हुने छन् र सुसमाचार सुन्ने र पालना गर्ने सुअवसर प्राप्त नगरेका मृतकहरूका लागि त्यहाँ विधिहरू निर्वाह गर्न हजारौँ पुरुष र महिलाहरू हुने छन्” (Teachings of Presidents of the Church: Brigham Young [१९९७], ३१२ )। अनि अध्यक्ष एज्रा टाफ्ट बेन्सनले भन्नुभयो: “हाम्रा अग्रजहरूले भविष्यवाणी गरेका छन् कि मन्दिरहरू उत्तर र दक्षिण अमेरिका, प्रशान्त टापुहरू, युरोप र अन्य स्थानहरूमा निर्माण गरिने छन् । यदि यो मुक्तिको कार्य जुन स्तरमा गरिनु पर्ने हो त्यो स्तरमा गर्ने हो भने, सयौँ मन्दिरहरूको आवश्यकता पर्छ” (The Teaching of Ezra Taft Benson, [१९८८], २४७) ।

  24. सिद्धान्त र करार ९३ :१

  25. एल्डर डेभिड बि. हाइटले भन्नुभयो:

    “यो सत्य हो कि कसै कसैले वास्तवमा मुक्तिदातालाई देखेका छन् तर जब कसैले शब्दकोषलाई हेर्छन्, उनले जानकारी प्राप्त गर्छन् कि हेर्नु शब्दका अन्य धेरै अर्थहरू छन्, जस्तै उहाँलाई बुझ्नु, उहाँलाई चिन्नु, उहाँलाई र उहाँका कार्यहरूलाई चिन्नु, उहाँको महत्त्वलाई बुझ्नु वा उहाँलाई बुझ्न खोज्नु हो ।

    “यस्तो स्वर्गको ज्ञान र आशीर्वाद हामी हरेकलाई उपलब्ध छ” (“Temples and Work Therein,” Ensign, नोभेम्बर १९९०, ६१) ।