धर्मशास्त्रहरू
परिचय


परिचय

बहुमूल्य मोति पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्चको आस्था र सिद्धान्तका धेरै महत्त्वपूर्ण पक्षहरूका सम्बन्धमा उच्चतम स्तरका सामग्रीहरूको सङ्कलन हो । यी वस्तुहरू अगमवक्ता जोसेफ स्मिथद्वारा अनुवाद र सिर्जना गरिएका थिए र यी मध्ये अधिकांश उनको समयमा चर्च पत्रिकाहरूमा नियमित अन्तरालमा प्रकाशित भएका थिए ।

बहुमूल्य मोति शीर्षकमा भएका सामग्रीहरूको पहिलो सङ्ग्रह तत्कालीन बाह्रको परिषद्का सदस्य र ब्रिटिश सुसमाचार प्रचार क्षेत्रका अध्यक्ष एल्डर फ्रेङ्क्लिन डी. रिचर्ड्सद्वारा १८५१ मा सङ्कलन गरिएको थियो । यसको उद्देश्य जोसेफ स्मिथको समयमा सीमित रूपमा सार्वजनिक भएका केही महत्त्वपूर्ण लेखहरूलाई सहज रूपमा पहुँचयोग्य बनाउनु थियो । युरोप र अमेरिकाभरि चर्चको सदस्यता बढ्दै गएपछि यी विषयवस्तुहरू उपलब्ध गराउनु आवश्यक थियो । बहुमूल्य मोतिको व्यापक उपयोग भयो र त्यसपछि अक्टोबर १०, १८८० मा सल्ट लेक सिटीमा प्रथम अध्यक्षता र साधारण सम्मेलनको कार्यद्वारा चर्चको मानक कार्य बन्यो ।

चर्चको आवश्यकताअनुसार सामग्रीहरूमा धेरै परिमार्जनहरू गरिएका छन् । १८७८ मा पहिलो संस्करणमा समावेश नभएको मोशाको पुस्तकका अंशहरू थपिए । १९०२ मा बहुमूल्य मोतिका केही अंशहरू जुन सिद्धान्त र करारमा समेत प्रकाशित भएका दोहोरिएका सामग्रीहरू हटाइएका थिए । १९०२ मा टिप्पणीहरू सहित अध्याय र पदहरूमा प्रबन्ध गरिएको थियो । १९२१ मा अनुक्रमणिका सहित दोहोरो स्तम्भ पृष्ठहरूमा पहिलो प्रकाशन गरिएको थियो । अप्रिल १९७६ सम्म कुनै अन्य परिवर्तनहरू गरिएका थिएनन्, जब प्रकाशका दुई वस्तुहरू थपिएका थिए । १९७९ मा यी दुई वस्तुहरूलाई बहुमूल्य मोतिबाट हटाइयो र सिद्धान्त र करारमा राखियो, जहाँ तिनीहरू अहिले खण्डहरू १३७१३८ का रूपमा रहेका छन् । हालको संस्करणमा प्रारम्भका कागजातहरू अनुरूपका मुद्रित शब्दांश ल्याउन केही परिवर्तनहरू गरिएका छन् ।

प्रस्तुत सामग्रीहरूको सङ्क्षिप्त परिचय निम्नानुसार छ:

  1. मोशाको पुस्तकबाट छनोटहरू । जोसेफ स्मिथको बाइबलको उत्पत्तिको पुस्तकको अनुवादबाट एक उद्धरण, जुन उनले जुन १८३० मा प्रारम्भ गरेका थिए ।

  2. अब्राहामको पुस्तक । अब्राहामका लेखहरूको प्रेरित अनुवाद । जोसेफ स्मिथले १८३५ मा केही मिश्र देशको लिखित सामग्री प्राप्त गरेपछि अनुवाद प्रारम्भ गरे । यो अनुवाद मार्च १, १८४२ को प्रारम्भमा नाभू, इलिनोइमा Times and Seasons मा क्रमिक रूपमा प्रकाशित भएको थियो ।

  3. जोसेफ स्मिथ—मत्ती जोसेफ स्मिथको बाइबलको अनुवादमा मत्तीको गवाहीबाट एक उद्धरण (नयाँ काररको अनुवाद प्रारम्भ गर्ने परमेश्वरको आज्ञाका लागि सिद्धान्त र करार ४५:६०–६१ हेर्नुहोस्) ।

  4. जोसेफ स्मिथ—इतिहास जोसेफ स्मिथको आधिकारिक गवाही र इतिहासका उद्धरणहरू, जुन उनले र तिनका शास्त्रीहरूले १८३८–१८३९ मा तयार पारेका थिए र जुन मार्च १५, १८४२ मा नाभू, इलिनोइमा Times and Seasons मा क्रमिक रूपमा प्रकाशित हुन प्रारम्भ भएका थिए ।

  5. पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका आस्थाका बुँदाहरू जोसेफ स्मिथद्वारा १ मार्च १८४२ मा घोषणा, जुन चर्चको सङ्क्षिप्त इतिहाससहित Times and Seasons मा प्रकाशन भयो जुन लोकप्रिय रूपमा वेन्टवर्थलाई पत्र भनेर चिनियो ।