साधारण सम्मेलन
उत्तर सदैव येशू ख्रीष्ट नै हो
अप्रिल २०२३ को साधारण सम्मेलन


उत्तर सदैव येशू ख्रीष्ट नै हो

तपाईंहरूसँग जस्तासुकै प्रश्नहरू वा समस्याहरू भए तापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, पछिल्लो दुई दिनमा हामीले आध्यात्मिक खुराक प्राप्त गरेका छौँ । भजन मण्डलीको सङ्गीत उत्कृष्ट थियो । जसले बोल्नुभयो उहाँहरू परमप्रभुका लागि साधन हुनु भएको छ । म प्रार्थना गर्छु कि तपाईंहरूले यस मञ्चबाट सिकाइएका सत्यहरूलाई मनन गर्दा आफ्नो अध्ययनमा तपाईंहरूलाई मार्गदर्शन गर्न पवित्र आत्माको खोजी गर्नुहुने छ । वास्तवमा नै तिनीहरू स्वर्गबाट पठाइएका हुन् ।

आजको एक हप्ता पछि इस्टरको आइतबार हो । यो येशू ख्रीष्टका अनुयायीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण धार्मिक क्रिया हो । हामीले क्रिसमस मनाउने प्रमुख कारण ईस्टर हो । आऊ, मलाई अनुशरण गर यस हप्ताको पाठले तपाईंहरूलाई मुक्तिदाताको यरूशलेममा विजयी प्रवेश, उहाँको मन्दिरको सफाइ, गेतसमनीको बगैँचामा उहाँको पीडा, उहाँको क्रूसारोहण, उहाँको महिमित पुनरुत्थान र उहाँका अनुयायीहरूका लागि उहाँको आगामी प्रकटको अध्ययन गर्न प्रेरित गर्ने छ ।

यी पवित्र पदहरूको स्वाद लिनुहोस् र उहाँका एकमात्र पुत्र हामीलाई पठाउनु भएकोमा हाम्रा स्वर्गका पितालाई धन्यवाद दिन सक्ने हरेक तरिका पत्ता लगाउनुहोस् । येशू ख्रीष्टका कारण, हामीले पश्चात्ताप गर्न सक्छौँ र हाम्रा पापहरूका लागि क्षमा प्राप्त गर्न सक्छौँ । उहाँको कारणले गर्दा हामी प्रत्येकको पुनरुत्थान हुने छ ।

३ नफीमा अभिलेख गरिए जस्तै अमेरिकी देशहरूमा नफीहरूसामु मुक्तिदाताको प्रकटको विवरण पुनः अध्ययन गर्न पनि म तपाईंहरूलाई आमन्त्रण गर्छु । त्यो प्रकटको धेरै पूर्व होइन, उहाँको वाणी मानिसहरू बीचमा सुनिएको थियो, याचनाका यी शब्दहरू सहित:

“के तिमीहरू अब मकहाँ फर्कने छैनौ र आफ्ना पापहरूबाट पश्चात्ताप गर्ने छैनौ र परिवर्तन हुने छैनौ, ताकि म तिमीहरूलाई चङ्गाइ दिन सकूँ?

“… हेर, मेरो कृपाका बाहु तिमीहरूतर्फ फैलिएका छन् र जो आउँने छ, म उसलाई ग्रहण गर्ने छु ।”

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज येशू ख्रीष्टले तपाईंहरूलाई त्यही आमन्त्रण दिनुहुन्छ । म तपाईंहरूलाई उहाँकहाँ आउन अनुरोध गर्दछु ताकि उहाँले तपाईंहरूलाई चङ्गाइ दिन सक्नुहुन्छ! तपाईंहरूले पश्चात्ताप गर्दा उहाँले तपाईंहरूलाई पापबाट चङ्गाइ दिनुहुने छ । उहाँले तपाईंहरूलाई उदासिनता र भयबाट चङ्गाइ दिनुहुने छ । उहाँले तपाईंहरूलाई यस संसारका चोटहरूबाट चङ्गाइ दिनुहुने छ ।

तपाईंहरूसँग जस्तासुकै प्रश्नहरू वा समस्याहरू भएतापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ । उहाँको प्रायश्चित, उहाँको प्रेम, उहाँको करूणा, उहाँको सिद्धान्त र उहाँको चङ्गाइ र प्रगतिको पुनर्स्थापित सुसमाचारका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् । उहाँतर्फ फर्कनुहोस्! उहाँलाई अनुशरण गर्नुहोस्!

हामीहरूले मन्दिरहरू निर्माण गर्ने कारण येशू ख्रीष्ट हुनुहुन्छ । प्रत्येक उहाँको पवित्र गृह हो । मन्दिरमा करारहरू गर्नाले र आवश्यक नियमहरू प्राप्त गर्नाले, साथै त्यहाँ उहाँसँग नजिक हुन चाहँदा, तपाईंहरूको जीवनलाई अरू कुनै प्रकारको उपासनाले दिन नसक्ने तरिकामा आशीर्वाद दिने छ । यस कारण, हामी मन्दिरका आशीर्वादहरूलाई विश्वभरका हाम्रा सदस्यहरूका लागि थप पहुँचयोग्य बनाउन हामीहरूले हाम्रो सामर्थ्यका सबै चीज गरिरहेका छौँ । आज, म निम्न स्थानहरू प्रत्येकमा नयाँ मन्दिर निर्माण गर्ने हाम्रा योजनाहरू घोषणा गर्न पाउँदा कृतज्ञ छु:

  • रेटाल्हुलु,, ग्वाटेमाला

  • इक्वीटोस, पेरु

  • तेरेसिना, ब्राजिल

  • नाताल, ब्राजिल

  • टुग्वेगाराव सिटी, फिलिपिन्स

  • इलोइलो, फिलिपिन्स

  • जकार्ता, इन्डोनेसिया

  • हेम्बर्ग, जर्मनी

  • लेथब्रिज, अल्बर्टा, क्यानडा

  • सेन होसे, केलिफोर्निया

  • बेकर्सफिल्ड, केलिफोर्निया

  • स्प्रिंकफिल्ड, मिजोरी

  • शार्लट, नर्थ केरोलाइना

  • विन्चेस्टर, भर्जिनिया

  • हेरिसबर्ग, पेन्सिलभेनिया

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म गवाही दिन्छु कि येशू ख्रीष्टले उहाँको चर्चका व्यवहारहरू निर्देशित गर्नुहुन्छ । म गवाही दिन्छु कि उहाँलाई अनुशरण गर्नु नै चिरस्थायी खुशीको एक मात्र उपाय हो । मलाई थाहा छ कि उहाँको शक्ति “धार्मिकता र महान् महिमामा परमेश्वरको शक्तिले सुसज्जित “ भएका उहाँको करार-पालना गर्ने मानिसहरूमा अवतरण हुँदै छ । म येशू ख्रीष्टको पवित्र नाममा, तपाईंहरू प्रत्येकका लागि मेरो प्रेम र आशीर्वादका साथ गवाही दिन्छु, आमीन ।